गण्डकी प्रदेशमा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ । प्रदेश संकट व्यवस्थापन केन्द्रको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकले गण्डकी प्रदेशका सबै जिल्लामा आवश्यकता अनुसार निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । त्यसका लागि जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिइने बताईएको छ ।
यसअघि, पोखरा महानगरले आजै राती १२ बजेबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । तर प्रदेशले निषेधाज्ञा अघि नागरिकलाई तयारीस्वरुप केही समय दिनुपर्ने आवश्यकता महशुस गरी भोली रातिबाट निषेधाज्ञा लागू गर्न भनेको छ । भदौ ७ गतेसम्म प्रदेशमा निषेधाज्ञा गर्ने निर्णय भएको बैठकमा सहभागी प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ ।
बैठकमा पोखरामा निषेधाज्ञा गर्ने गरी मेयर मानबहादुर जिसीले प्रसंग उठाए पनि संक्रमण फैलन नदिन प्रदेशभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । पोखरामा कडा खालको बन्दाबन्दी गरिने र अरु ठाउँमा मोबिलिटी कम गर्न बन्दाबन्दी गरिने भएको छ ।
निषेधाज्ञाको समयमा स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् । यसअघि, पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले १ हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।