अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४७ | Colorodo: 12:02

अयोध्या जान निस्केका जानकी मन्दिरका महन्थलाई सीमाबाट फर्काइयो

बिआरटीनेपाल २०७७ साउन २० गते ६:०७ मा प्रकाशित

भारतको अयोध्यामा निर्माण हुन लागेको राममन्दिरको भूमि पुजनको लागि अयोध्या निस्केका जानकी मन्दिरका महन्थलाई बाटोबाटै फर्काइएको छ। लामो समयदेखि विवादित रहेको राममन्दिरको निर्माण सम्बन्धमा भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर निर्माणका लागि आदेश दिएपछि त्यहाँ राम मन्दिर निर्माणको कार्य अगाडि बढाउन लागिएको हो। मन्दिरको भूमि पुजन बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्न लाग्नुभएको छ ।

राम मन्दिर भूमि पूजन कार्यक्रमको प्रमुख अतिथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुनुहुन्छ भने विशिष्ट अतिथि राष्ट्रिय स्वयंसेवक संघका सरसंघ चालक मोहन भागवतलाई बनाइएको छ। कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत उपस्थिति रहने छ।

कोरोना संक्रमणको समयमा हुन लागेको भूमि पूजन कार्यक्रममा सीमित व्यक्तिलाई आमन्त्रित गरिएकोमा जानकी मन्दिरका महन्थलाई समेत आमन्त्रित गरिएको थियो। अयोध्याका लागि आमन्त्रित महन्थ रामतपेश्वर दास भारत जान खोज्दा सीमाबाट नै फर्काइएको हो। भूमि पुजनको लागि भगवान रामको ससुराली पक्षको तर्फबाट जनकपुरधामबाट निस्के पनि उहाँलाई भारत प्रवेश गर्न दिइएको छैन। नाकाबाट आवतजावत गर्न प्रतिबन्ध रहेको भन्दै सुरक्षाकर्मीले अनुमति नदिएपछि उनी राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन अयोध्या जान नसकेको बताइएको छ।

जानकी मन्दिरका महन्थ दासले शिलान्यास कार्यक्रममा जनकपुरधामको प्रतिनिधित्व गर्न अयोध्याका लागि हिँडे पनि प्रहरीले नाकाबाट जान अनुमति नदिएको जानकारी दिनुभयो । भारतीय सीमा सुरक्षा बलसँग कुरा गर्दा उनीहरूले अस्पतालको पिसिआर रिपोर्ट देखाएमात्र जान दिने भनेको महन्थ दासले बताउनुभयो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले आफूले यताबाट जानकी मन्दिरका महन्थलाई पास दिएपनि भारतीय पक्षबाट उहाँलाई जान नदिएको बबताउनुभयो । महन्थ दासलाई महोत्तरीको भिठामोड नाकाबाट पुनः जनकपुरधाम फर्काइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू