अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

विवादपछि पशुपतिको गुरुयोजना एक महिनाका लागि स्थगित

बिआरटीनेपाल २०७७ साउन १८ गते ६:५५ मा प्रकाशित

पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषदबाट पारित गरेको गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्कालका लागि स्थगन गरेको छ । मन्त्रालयमा आज मन्त्री योगेश भट्टराई, पशुपति क्षेत्र विकास कोषका प्रतिनिधि तथा गुरुयोजनाको विरोधमा रहेकासहितको छलफलपछि अहिलेको गुरुयोजना एक महिनाका लागि स्थगन गर्ने सहमति भएको हो । मन्त्रालयले सरोकारवाल सबै पक्षसँग छलफलका लागि तीन सदस्यीय कार्यदल पनि बनाइएको छ ।

कार्यदलले सबै अहिले प्रस्तावित गुरुयोजनाको अध्ययन तथा सरोकारवाला सबैसँग छलफल गरेर आवश्यक परेमा परिमार्जनका लागि सुझाव दिने जिम्मेवारी पाएको छ । त्यसपछि मात्रै गुरुयोजनाको प्रक्रिया अघि बढ्ने छ । मन्त्रालयका संस्कृति महाशाखा प्रमुख, योजना र प्रशासन महाशाखा प्रमुख तथा पुरातत्व विभागका महानिर्देशक सम्मिलित कार्यदल गठन भएको गठन भएको हो । कार्यदलले महिनादिन भित्र पुरातत्वविद, संस्कृतिविद, स्थानीय बासिन्दा, सम्पदा तथा संरक्षणकर्मी, इतिहासविदसहितसँग छलफल गरेर प्रतिवेदन बुझाउने छ ।

यस अवधिसम्मका लागि हालको गुरुयोजना अनुसारको सबै काम रोकिएको छ । मन्त्रालयका प्रवक्तासमेत रहनुभएका सहसचिव कमलप्रसाद भट्टराई र सहसचिव प्रदीपकुमार कोइराला तथा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसहितको कार्यदल बनाएको हो । छलफलमा मन्त्र भट्टराईले आवश्यक परेमा गुरुयोजना परिमार्जन गर्ने र प्राचीनता तथा पुरातत्वमाथि कुनै असर पर्न नदिने बताउनुभएको छ । छलफलमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव, कोषाध्यक्ष तथा गुरुयोजनाका संयोजक चेतोनाथ गौतम सहितको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू