अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 00:41

पर्सामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७७ साउन १७ गते २३:४३ मा प्रकाशित

वीरगञ्जमा गएराति गरिएको परीक्षणमा थप ४५ जनामा नोबेल कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको जाँचको रिपोर्टमा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो । अस्पतालका सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले सङ्क्रमित सबै पर्सा जिल्लाका भएको बताउनुभयो ।

समुदायमा कोरोनाको सङ्क्रमण फैलिएको शङ्कामा बिभिन्न समुदायमा गरी करिब ५ सय जनाको स्वाव सङ्कलन गरी जाँच गर्दा ४५ जनामा कोरोना देखिएको सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितको अभिलेख खोज्दै जाँदा शङ्का लागेका व्यक्तिको पनि स्वाब सङ्कलन गरिएको थियो । यसक्रममा वीरगञ्ज महानगर प्रमुख विजय सरावगीका परिवारका सदस्यमा पनि कोरोना देखिएको स्रोतले जनाएको छ ।

नारायणी अस्पतालको ल्याबबाट वीरगञ्ज महानगरभित्रका दैनिक ४० देखि ५० जनामा सङ्क्रमण भेटिने गरेपछि सङ्क्रमण र मृत्युको शृङ्खला कसरी तोड्ने भन्ने चिन्तामा स्थानीय जनप्रतिनिधि, चिकित्सक तथा सरोकारवाला निकाय छन् । सङ्क्रमति मध्ये अधिकांशमा श्वासप्रश्वासको समस्या, रुघाखोकी लाग्ने समस्या देखिने गरेको छ । ४० जना स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएको चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली आज वीरगञ्ज पुग्दैछ ।

कोरोना नियन्त्रणका लागि तीन तहका सरकारबीच समन्वयमा समस्या देखिएका कारण सङ्क्रमण र मृत्युदर बढेको डा उपाध्यायको भनाइ छ । भारतबाट नेपाल आउने सीमा नाकामा कडाइ नगरिए अवस्था झन् विग्रने उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले भने प्रदेश २ का जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै जानुमा त्यस क्षेत्रमा बसोबास गर्ने नागरिकको दैनिक व्यवहार र अनियन्त्रित आउजाउ कारण रहेको निष्कर्ष निकालेको छ ।

मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले सरकारले सङ्क्रमणको अवस्था हेरी लकडाउन अर्थात बन्दाबन्दीको स्वरूपमा जोखिममा रहेका जिल्लामा कडाइ गर्दै लैजाने तयारी गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू