अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

कांग्रेस विवाद– पौडेल पक्षद्वारा देउवालाई लिखित असहमति पेश

बिआरटीनेपाल २०७७ साउन १५ गते ६:२० मा प्रकाशित

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी विभागमा भइरहेका मनोनयनलगायतका असहमतिका पाँच वटा विषयमा सभापति शेरबहादुर देउवालाई भेटरै ध्यानाकर्षण गराएको छ । देउवाबाट सकारात्मक जवाफ नपाएपछि पौडेल पक्षले पत्रकार सम्मेलन मार्फत आजै आफ्नो धारणा सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल पक्षले सभापति देउवालाई आज बुझाएको लिखित पत्रमा पार्टी विभागमा गठन र मनोनयन रोक्न, क्रियाशील सदस्यता वितरणमा पारदर्शी बनाउन, अर्को पार्टीबाट कांग्रेस प्रवेश गर्नेलाई पद विभाजन गर्दा केन्द्रीय कार्यसमितिबाट मात्रै निर्णय लिन, विदेशस्थित जनसम्पर्क समितिका विवादलाई निष्पक्ष रुपमा हल गनुपर्ने लगायतका विषय छन् ।

भेटमा पनि वरिष्ठ नेता पौडेलले महाधिवेशनलाई निष्पक्ष र स्वतन्त्रपूर्वक गर्ने वातवरण निर्माणका लागि पार्टीका केन्द्रीय विभाग र निकायमा भइरहेका मनोनयन तत्काल रोक्नुपर्ने माग उठाएको केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय महाधिवेशनसहित तल्ला तहका अधिवेशनको तिथि घोषणा भइसकेपछि विभागमा संयोजक तोक्ने, सदस्य मनोनयन गर्ने र पार्टीका अन्य निकाय समेत गठन गर्ने काम भइरहेको भन्दै पौडेल पक्षले आपत्ति जनाउँदै आएको थियो ।

यसअघि पनि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले लिखित रुपमै विरोध जनाएका थिए । पार्टी विधानको पालना, चौधौं महाधिवशेनको सफलता र आन्तरिक लोकतन्त्रको प्रवबद्धनबारे’ विषयमा नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालाले हस्ताक्षर गरेर पत्र बुझाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू