अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

चितवनमा राज्यआतंक सिर्जना भयो – क्रान्तिकारी माओवादी

बिआरटीनेपाल २०७७ साउन १२ गते ७:०० मा प्रकाशित

सुकुम्बासीका घर भत्काउने र चेपाङ युवालाई कुटीकुटी मार्ने काम गरेर सरकारले चितवनमा राज्यआतंक सिर्जना गरेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) चितवनले आरोप लगाएको छ । सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी क्रान्तिकारी माओवादीले यस्तो आरोप लगाएको हो ।

चितवन राष्ट्रिय निकुञ्जबाट गएको टोलीले माडी नगरपालिका–९, कुसुमखोलामा साउनको पहिलो शनिबार सुकुम्बासी बस्तीमा रहेका दसमध्ये दुई घरमा आगजनी गर्ने र आठ घरलाई हात्ती परिचालन गरी भत्काउने काम गरेको थियो । उक्त घटना अमानवीय कार्य भएको भन्दै सर्वत्र विरोध भएपछि वनमन्त्री शक्ति बस्नेतले हिजो आइतबार सुकुम्बासीको घर नभई मचान जलेको भनी अभिव्यक्ति दिनुभएको थियो ।

कुसुमखोलामा पुगी स्थलगत अवलोकनपछि सदरमुकाम फर्किएर क्रान्तिकारी माओवादीका जिल्ला तहका नेताले त्यहाँको वस्तु स्थिति बुझ्दा सरकारबाट राज्यआतंक सिर्जना गर्ने काम भएको बताएका हुन् । पत्रकार भेटघाटमा बोल्दै पार्टीका जिल्ला सेक्रेटरी अशोक शर्माले निकुञ्जका सुरक्षाकर्मीबाट माडीमा सुकुम्बासीका घर जलाउने र पिप्लेमा चेपाङ युवकलाई कुटेर मार्ने काम राज्यआतंक भएको बताउनुभयो ।

‘निकुञ्जका वार्डेनको आदेशपछि सहायक वार्डेनको नेतृत्वमा सात वटा हात्ती चढेर गएका निकुञ्जका सुरक्षाकर्मी र कर्मचारी गरी २५ जनाको टोलीले झुप्रामा आगो लगाउने र घर भत्काउने काम भएको छ’ सेक्रेटरी शर्माले भन्नुभयो, ‘माडी र पिप्लेमा भएका घटना राज्यआतंकका घटना हुन् । यो सरकार मजदुर, किसान, सुकुम्बासी र सीमान्तकृत वर्गको पक्षमा छैन भन्ने पुष्टि भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू