अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९ | Colorodo: 09:44

तीन सातामा माग पूरा नगरे सत्याग्रह सुरु गर्ने डाक्टर गोविन्द केसीको चेतावनी

बिआरटीनेपाल २०७७ साउन ११ गते ७:२० मा प्रकाशित

चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले तीन वटा माग राख्दै तीन सातामा पूरा नगरे सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबीबीएसको पढाइ सुरु गर्न, आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न र चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउन माग गर्दै केसीले सत्याग्रहको चेतावनी दिनुभएको हो ।

बाजुरा, हुम्ला, कालिकोट हुदै आज जुम्ला आइपुग्नुभएका डाक्टर केसीले उद्योग बाणिज्य संघको हलमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिनुभएको हो । जुम्लामा रहनुभएका केसीले जारी गरेको विज्ञप्तिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको आरोप लगाउँदै तत्काल अनुमति प्रदान गर्न माग गरिएको छ ।

त्यस्तै कैलालीको गेटा मेडिकल कलेज र दाङाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन गराउन पनि माग गर्नुभएको छ । प्रदेश दुइ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर, इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि केसीले माग गर्नुभएको छ । त्यस्तै केसीले चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० सिट कायम गर्न पनि माग गर्नुभएको छ ।

चिकित्सा शिक्षा अध्ययन संस्थानमा सरकारले वरिष्ठता मिचेर डा. दिव्यासिंह शाहलाई डीन बनाएकोमा पनि केसीले विरोध जनाउनुभएको छ । उहाँले विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि परासर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुसार निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्तिको कानूनी व्यवस्था गर्न माग गर्नुभयो । डा. केसीले कोरोनाको विश्वब्यापी महामारीका बेला जनतालाई राहत पुर्याउनुको सट्टा भ्रष्टाचार गरेर आफ्नै मन्त्री र कार्यकर्तालाई धनी बनाउन सरकार लागेको आरोप पनि लगाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू