प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति तथ्यहीन भएको टिप्पणी गर्नुभएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा पार्टी निर्णयकै आधारमा सार्वजनिक भएको भन्दै दिएको अभिव्यक्रिप्रति थापाले यस्तो टिप्पणी गर्नुभएको हो । थापाले प्रचण्डको नाम नलिइ उहाँलाई लक्षित गर्दै फेसबुकमा लेख्नुभएको छ , ‘यसरी दिउँसै रात पार्ने तथ्यहीन कुरा गर्नुको साटो बरू आफू प्रधानमन्त्री रहेको बेला पहिल्यै यो नक्सा यसैगरी प्रकाशित गरेर इतिहास रचेको भए हुँदैनथ्यो होला र ?’
पछिल्ला दिनमा नेकपाभित्र भारतले अतिक्रमण गरेको भूमि समेटेर सार्वजनिक भएको नेपालको नक्साको जस लिने लडाईं नै सुरु भएको छ। शुक्रबार प्रचण्डले नेकपाका संस्थापक नेताहरुको स्मृति दिवसको कार्यक्रममा नक्सा प्रकाशनको विषयलाई लिएर कसैलाई दलाल र कसैलाई राष्ट्रवादी भनेर देवत्वकरण भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । यो विषय केही समयअघि प्रचण्डले चितवनमासमेत उठाउनुभएको थियो ।
प्रचण्डले शुक्रबार नेकपा सचिवालय बैठकले नै सरकारको नीति तथा कार्यक्रममै अतिक्रमित भूमि समेटर नयाँ नक्सा ल्याउन निर्देशन दिएको उल्लेख गर्नुभएको थियो र प्रचण्डको यही अभिव्यक्तिप्रति थापाले चर्को टिप्पणी गर्नुभएको हो ।