अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२० | Colorodo: 16:35

निजी विद्यालयमा अनलाइन कक्षा पुनः सञ्चालन

बिआरटीनेपाल २०७७ साउन ८ गते ६:०३ मा प्रकाशित

निजी विद्यालय सञ्चालकले एक हप्तादेखि रोकिएको अनलाइन कक्षा बिहीबारदेखि फेरि सुरु गरेका छन् । सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गरेर शिक्षकलाई बेतलबी बिदा दिएका निजी विद्यालयको सङ्गठन प्याब्सन र एनप्याब्सनले बिहीबारदेखि फेरि कक्षा सुरु गरेका हुन् ।

आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन नसकिएकाले गएको असार ३१ गते निजी तथा आवासीय विद्यालयका छाता संस्थाले विज्ञप्ति जारी गरी शिक्षकलाई बेतलबी बिदा दिइ यही साउन १ गतेदेखि अनलाइन कक्षा स्थगित गरेका थिए ।

प्याब्सन, एन प्याब्सन, इस्टु, अभिभावक सङ्घलगायतको संयुक्त बैठकले बिहीबारदेखि अनलाइन कक्षा फेरि सुरु गरेको र भदौ १ गतेदेखि मात्र हुने भनिएको भर्ना कार्यक्रममा फेरि विचार गर्न सरकारसँग माग गरेका छन् । निजी विद्यालय सञ्चालकले वैकल्पिक शिक्षण सिकाइ रोके पनि सरकारले भने रेडियो, टेलिभिजन र युट्युब च्यानलबाट विद्यार्थीलाई पढाइरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय फेरि सञ्चालनको कार्यविधि तयारीसहित सरोकार पक्षसँग बुधबार छलफल गरेपछि प्याब्सन, एनप्याब्सन, नेपाल शिक्षक महासङ्घ, संस्थागत विद्यालय शिक्षक युनियन र अभिभावक महासङ्घसँग परामर्श गरेको थियो ।

शिक्षक र अभिभावकले पनि निजी विद्यालयलाई अनलाइन कक्षा नरोक्न दबाब दिएका थिए । सरकारले जारी गरेको वैकल्पिक प्रणालीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ को कार्यान्वयनका लागि गएको असार १ गतेदेखि सबै विद्यालयमा वैकल्पिक प्रणालीबाट पढाइ भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू