अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 16:42

पूर्वमाओवादी सम्वद्ध स्थायी कमिटी सदस्यसँग नेकपा अध्यक्ष प्रचण्डद्वारा छलफल

बिआरटीनेपाल २०७७ साउन ५ गते ७:१८ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी सम्वद्ध स्थायी कमिटी सदस्यसँग छलफल गर्नुभएको छ । आफू निकटका नेतालाई आज विहान आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउदै सुझाव माग्नुभएको हो । मंसिरमा महाधिवेशन गर्ने प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव, सचिवालय र शीतल निवासमा भएको छलफलबारे नेतालाई प्रचण्डले जानकारी गराउनुभएको छ ।

आफूले महाधिवेशन गर्ने प्रस्तावमा सोचविचार गर्न सकिन्छ भनेको भन्दै उहाँले ‘वैचारिक विषय नटुंगीएको बताउनुभयो । छोटो समयमा भ्याउन नसकिने भए पनि साथीहरुसँग छलफल गर्न सकिन्छ भनेर मात्र आफुले भनेको उहाँले बताउनुभयो । तर बाहिर पदका लागि झगडा भएको र पद मिलेपछि सहमति भयो भनेर जसरी प्रचार भएको छ, त्यो नभएको प्रचण्डको भनाइ छ ।

प्रचण्डले अब वैचारिक र जनतासँग जोडिएको मुद्दामा बढी केन्द्रित हुनुपर्नेमा जोड दिएको बताउनुभयो । बैठकमा नेताले पनि अहिले कडा रुपमा प्रस्तुत हदाँ पार्टी नै फुट्न सक्ने र पदकै लागि पार्टी फुटाएको आरोप लाग्नसक्ने भन्दै स्थायी कमिटी बैठकलाई नियमित एजेण्डामा फर्काएर जानुपर्ने सुझाव दिएका छन् । त्यसका लागि पहिलो अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पहल लिनुपर्ने नेताको धारणा थियो । जवाफमा प्रचण्डले पनि ओलीसँग एकता, संघर्ष र एकताकै आधारमा अगाडि बढ्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू