अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२२ | Colorodo: 12:37

प्रधानमन्त्री ओलीको अभिब्यक्ति विरुद्ध भारत अयोध्याका साधुसन्तको आन्दोलन गर्ने चेतावनी

बिआरटीनेपाल २०७७ असार ३० गते २:०२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भगवान रामको जन्मस्थल र अयोध्याका बारेमा दिएको अभिब्यक्तिप्रति भारतका साधुसन्तहरुले आपत्ति जनाएका छन् । ‘यो तहको अभिब्यक्ति शोभनिय नभएको’ भन्दै भारत अयोध्याका साधु महात्माहरुले ओलीको अभिव्यक्ति चीनको उक्साहटमा भएको समेत आरोप लगाएका छन् ।

मंगलबार भारतीय टेलिभिजन आजतकसँगको कुराकानीमा आयोध्यास्थित राम दल ट्रस्टका अध्यक्ष रामदास महाराजले ओली विरुद्ध आन्दोलन गर्ने समेत चेतावनी दिनुभएको छ । त्यस्तै हनुमानगढका महन्त राजु दासले नेपाल सँधै सनातन हिन्दु धर्म मान्ने हिन्दु राष्ट्र भए पनि बामपन्थी सरकारको ‘बुद्धी भ्रष्ट’ भएको आरोप लगाउनुभयो ।

त्यस्तै अध्यक्ष रामदास महाराजले नेपालका आफ्ना शिष्यहरु आन्दोलनमा उत्रिने र एक महिनाभित्र प्रधानमन्त्री ओलीले राजीनामा दिने दाबी गर्नुभएको छ । सम्पूर्ण विश्वको सांस्कृतिक राजधानी अयोध्या भएको उहाँको दाबी छ । महाराजले भन्नुभएको छ, “म नेपालमा रहेका सम्पूर्ण शिष्यहरुलाई ओलीलाई सत्ताबाट बहिष्कृत गर्न आदेश दिन्छु, मेरो आदेश पालना गर्न निर्देशन दिन्छु ।” उहाँले वेद र पुराणमा गरिएको वर्णन स्मरण गराउँदै अयोध्या नेपालमा नभएको बताउनुभयो ।

सोमबार ओलीले भारतले नक्कली अयोध्या खडा गरेको र भगवान् राम भारतीय पनि नभएको भन्दै अर्को विवादास्पद उद्घोष गर्नुभएको थियो । भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नक्कली अयोध्या खडा गरेर भारतले सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाउनु भएको थियो ।

नेपाल सांस्कृतिक हिसाबले थिचिएको भन्दै प्रधानमन्त्री ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको जिकिर गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू