अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

गलबन्दी पछ्यौरी सार्वजनिक

बिआरटीनेपाल २०७७ असार २६ गते १६:१३ मा प्रकाशित

नेपाली म्युजिक भिडियो इतिहासमै युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो ‘पिरिम नलाउने’को सफलता पश्चात् गायक आशिष् सचिनको अर्को प्रस्तुति ‘गलबन्दी पछ्यौरी’ सार्वजनिक भएको छ । ‘पिरिम नलाउने’ समूहकै सहभागितामा गलबन्दी पछ्यौरी तयार भएको हो ।

कोभिड १९ को प्रभावको बिच सामाजिक दुरी र सतर्कता अपनाउँदै आज काठमाडौँमा सम्पन्न एक कार्यक्रममा ‘गलबन्दी पछ्यौरी’ सार्वजनिक गरिएको हो । गायक आशिष् सचिनको स्वर तथा अभिनय रहेको ‘गलबन्दी पछ्यौरी’लाई उक्त गीतको टिम र केही पत्रकारहरूको सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा ‘पिरिम नलगाउने’लाई झन्डै सात करोड पटक हेरिएको भन्दै टिमले केक काटेर सेलेब्रेसन समेत गरेको थियो । लकडाउन हुनु पूर्व नै छायाङ्कन गरिएको गीतको भिडियो पछिल्लो समयमा काठमाडौँमा लकडाउन केही खुकुलो हुँदा सीमित पत्रकारहरूको बिच कार्यक्रम सम्पन्न भएको हो ।

चार दिन लगाएर खिचिएको गीतमा नेपाली परम्परागत रोटे पिङ, लिङ्गे पिङ, हाटबजारको दृश्यलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । गीतलाई अघिल्लो गीत ‘पिरिम नलाउने’लाई जस्तै दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको अभिनेत्री वर्षा राउतले बताइन् ।

ओएसआर डिजिटलको निर्माण रहेको गीतमा गायक आशिष् सचिनलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । ‘पिरिम नलाउने’कै सङ्गीतकार दीपक शर्माको शब्द तथा सङ्गीतमा रहेको गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

गीत तथा भिडियोमा प्रायः ‘पिरिम नलाउने’ कै टिमको सहभागिता रहेको छ । गम्भीर विष्टको कन्सेप्ट तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा गायक आशिष् सचिनका साथै वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराई लगायतको अभिनय रहेको छ ।
ओएसआर को आधिकारी युट्युब च्यानलमा सार्वजनिक भएको यस गीतको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका हुन भने यसमा नवीन निरौलाको सम्पादन रहेको छ । यस अघि ‘पिरिम नलगाउने’ गीत युट्युबमा दर्शकले अत्यधिक रुचाएका कारण सोही कलाकार र टिम मिलेर पिरिम नलाउनेको प्रिक्वेलस्वरुप ‘गलबन्दी पछ्यौरी’ तयार पारिएको गायक तथा भिडियोका निर्माता आशिष् सचिनले जनाए ।

आरम्भ ‘पिरिम नलगाउने’ भनिएको म्युजिक भिडियोमा एक वर्षअघि सार्वजनिक सफल म्युजिक भिडियो ‘पिरिम नलाउने’को भन्दा अगाडिको कथा देखाइएको छ । सर्ट फिल्म शैलीमा बनाइएको सो प्रिक्वेल म्युजिक भिडियोमा दश वर्षअघिको गाउँघरको परिवेशमा मौलाएको युगल प्रेमलाई कथाका रूपमा चित्रित गरिएको छ ।

‘पिरिम नलाउने’लाई अहिले सम्म ६ करोड ४३ लाख पटक हेरिएको छ । गायक आशिष् सचिनकै एक कान दुई कान मैदानलाई पनि २ करोड ७५ लाख पटक हेरिएको छ ।

प्रतिक्रिया