अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

मकवानपुर जिल्लामा फेरि सुरु भयो नयाँ कार्यक्रम

बिआरटीनेपाल २०७७ असार २१ गते १०:४८ मा प्रकाशित

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, जिल्ला समिति मकवानपुरले ननिदाएका शिक्षकहरू शीर्षकमा रहेर असार २० गते कार्यक्रमको उद्घाटन गरेको छ ।सङ्गठनका जिल्ला अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि सङ्गठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्मा हुनुहुन्थ्यो भने समीक्षकको रूपमा शिक्षाविद् विद्यानाथ कोइरालाको उपस्थिति रहेको थियो ।

विश्व नै कोरोना भाइरस (कोभिड–१९) को कारण आक्रान्त बनिरहेको छ । यस विषम परिस्थितिले शिक्षा क्षेत्रमा पनि प्रभाव परेको छ भने प्रशिक्षार्थी अझ त्यो भन्दा बढी प्रभावित भएका छन् । विद्यालय तहका करिब ९० लाख विद्यार्थीहरूले आआफ्नो विद्यालयमा गई पढ्ने वातावरण लामो समयदेखि पाएका छैनन् । उनीहरू घरभित्र थुनिएर बस्न बाध्य छन् । यस्तो अवस्थामा ती विद्यार्थीहरूको मानसिक अवस्थामा असर परेको छ । केही विद्यालयले सामाजिक दुरी कायम गर्दै विद्यालय र घरघरमा गई शिक्षा दिन थाले पनि सबै विद्यार्थीहरूले त्यस्तो अवसर पाउन सकेका छैनन् । तर समस्यासँग जुध्दै सङ्गठनले विभिन्न जिल्लामा शिक्षकको लागि विभिन्न प्रविधि मैत्री तालिमहरू सञ्चालन गरिरहेका छन् जसले गर्दा ती तालिमप्राप्त शिक्षकहरू समयसापेक्ष शिक्षा प्रदान गर्न सक्षम भएका छन् । शिक्षकहरू तालिमप्राप्त भएर घर बस्नुपर्ने अवस्था र विद्यार्थीहरू निराश भएर घर बस्नु पर्ने बाध्यता नआओस् भन्ने उद्देश्यले राष्ट्रिय समितिको परिकल्पनामा यस कार्यक्रम राखिएको जानकारी सङ्गठनका मकवानपुर जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले दिनुभयो । सङ्गठनको जन्म जिल्ला मकवानपुरले यसभन्दा अघि पनि विभिन्न कार्यक्रम गरिसकेको जानकारी पनि गौतमले नै दिनुभयो ।

यम विषम परिस्थितिमा स्वास्थ्यको ख्याल राख्दै वैकल्पिक सिकाइ सहजीकरण गर्न शिक्षकहरूलाई प्रोत्साहन गर्ने, शिक्षण सिकाइका क्रममा नवीन अभ्यास गर्ने शिक्षकहरूको खोजी गरी त्यस्ता नयाँ अभ्यासहरू बाहिर ल्याउने, सङ्गठनका सदस्यहरूको क्रियाशीलता अभिवृद्धि गर्ने र पेसागत दक्षता सुदृढीकरणमा सहयोग पु¥याउने कार्यक्रमको उद्देश्य रहेको सङ्गठनका जिल्ला अध्यक्ष श्रीराम दाहालले जानकारी दिनुभयो । विद्यालयले वैकल्पिक सिकाइका लागि गरेका राम्रा अभ्यासहरूलाई भिडियो बनाउने र सो भिडियो फेसबुकको वाच पार्टीमा प्रत्येक शुक्रवार बेलुका ८ बजे प्रसारण गर्ने जानकारी पनि सोही जिल्लाका सङ्गठनका सचिव तथा कार्यक्रम सञ्चालक पुरुषोत्तम आचार्यले दिनुभयो । देशभरिका विभिन्न जिल्लाबाट उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा मकवानपुर जिल्लाको केही विद्यालयका उदाहरणीय कार्यको भिडियो प्रस्तुत गरिएको थियो । आगामी कार्यक्रमलाई योजनाबद्ध तरिकाले अघि बढाउनको लागि जिल्ला अध्यक्ष श्रीराम दाहालको संयोजकत्वमा सात सदस्यीय प्राविधिक समिति पनि निर्माण गरिने जानकारी पनि दाहालले दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू