अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

होटल व्यवसाय छिट्टै सञ्चालनमा आउँछ – पर्यटन मन्त्री भट्टराई

बिआरटीनेपाल २०७७ असार १९ गते ७:३० मा प्रकाशित

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहांले कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको बताउनुभएको हो ।

मन्त्री भट्टराईले अहिले पर्यटक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै नहुने भएकाले यसमा छलफल र गृहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । व्यवसायीहरुले होटल सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने उहाँको भनाई थियो ।

कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको उल्लेख गर्दै उहाँले अरु देशहरुको तथ्याङ्क अध्ययन गर्दै पर्यटन क्षेत्रका व्यक्तिहरुसँग सल्लाह गरी छिट्टै सञ्चालनका लािग सीसीएमसीमा प्रस्ताव लिएर जाने बताउनुभयो ।मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण काम आगामी डिसेम्बर २० सम्म सम्पन्न हुने दाबी पनि गर्नुभयो ।

सरकारी र नीजि क्षेत्रबाट गरी पर्यटन क्षेत्रमा १० खर्ब बढीको लगानी रहेको उल्लेख गर्दै उहाँले साढे २ लाख प्रत्यक्ष र ८ लाख मान्छे आंशिक रुपमा पर्यटन व्यवसायसँग जोडिएको बताउनुभयो ।चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयबाट टेण्डर पाएको विवादित ओम्नी समुहले अहिलेसम्म ढुवानी वापतको रकम एयरलाइन्सलाई नदिएको प्रति पनि उहाँले असन्तुष्टि जनाउँदै उक्त रकम लिएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री भट्टराईले अर्थतन्त्र पुनस्र्थापनाका लागि बजेटमाफर्त डेढ खर्ब बराबरको पुनकर्जा कोष बनाइएको उल्लेख गर्दै पर्यटन क्षेत्रको समस्या सम्बोधन गर्न थप गृहकार्य भैरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू