अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुल्यो

बिआरटीनेपाल २०७७ असार १८ गते ७:०० मा प्रकाशित

सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो । अब विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिनुभयो ।

कामदारले काम गरिरहेको पुरानै रोजगारदाताकोमा काममा जान दिन अनुमति दिन थालिएको हो । नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार सात गते बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो । अब वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुन श्रम स्वीकृति लिएर नेपाली जान पाउनेछन् ।

काठमाडौंमा आजबाटै र उपत्यका बाहिरका प्रदेश श्रम कार्यालयबाट आइतबारदेखि सेवा दिन थालिनेछ । काठमाडौंको ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा सेवाग्रही लाइन बस्दा समाजिक दूरी कायम हुने गरी चिन्ह कोरिसकिएको छ । अवस्था हेरेर श्रम मन्त्रालयले नयाँ जाने कामदारको हकमा पनि निर्णय गर्न सक्नेछ । सरकारले वैदेशिक रोजगारी खुला गरेपनि नियमित हवाई उडान भने साउन सात गतेसम्म बन्द गरेको छ ।

विभागका महानिर्देशक दाहालले जानैपर्ने अवस्थामा कामदार अनुमति लिएर नेपालबाट उद्धार उडानका लागि जाने विमानमा जानसक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू