अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

प्रधानमन्त्री ओलीलाई पार्टी कमिटीको निर्णय मानेर अघि बढ्न सुझाव

बिआरटीनेपाल २०७७ असार १७ गते ६:५१ मा प्रकाशित

सरकारका मन्त्री र नेकपाका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी कमिटीको निर्णय मानेर अघि बढ्न सुझाव दिएका छन् । सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा हिजो शीर्ष नेता सहितले ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागेपछि सल्लाहका लागि उहाँले आज बोलाएको बैठकमा उहाँलाई मन्त्री र नेकपाका नेताले यस्तो सुझाव दिएका हुन् ।

अधिकांश नेता र मन्त्रीले पार्टी कमिटीले गरेको निर्णय स्वीकार्छु भनेर अघि बढ्न सुझाव दिएका कृषि मन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो । भुसाल लगायत केही मन्त्रीले प्रधानमन्त्रीलाई अप्ठेरो परेको खण्डमा आफूहरुलगायत मन्त्रिपरिषद्का आधाजति मन्त्री राजीनामा दिन तयार रहेको पनि बताएका छन् । छलफलको सुरुमै प्रधानमन्त्री ओलीले आफूलाई अपमानित गरिएको बताउनुभएको थियो ।

उहाँपछि बोल्दै भुसालले ओलीका विषयमा आफ्नो मूल्यांकन सुनाउनुभएको थियो । भुसालले पार्टीकै कारण सत्ता र शक्ति प्राप्त भएको भन्दै म नै सर्वोपरि हुँ भन्ने नसोची पार्टीलाई नै सबैकुरा समर्पण गर्छु भनेर अघि बढ्न सुझाव दिनुभएको थियो । छलफलमा सुवास नेम्वाङ, मणि थापा, लेखराज भट्ट लगायतका नेताले पनि पार्टी एकताका लागि प्रधानमन्त्रीले फराकिलो सोच राख्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू