अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

नेपालमा लकडाउनको सय दिन पुग्यो, संक्रमण बढ्दै, डर घट्दै

बिआरटीनेपाल २०७७ असार १७ गते ६:४७ मा प्रकाशित

नेपालमा  कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको आज सय दिन पुगेको छ । लकडाउन अर्थात् बन्दाबन्दीको सयदिन मध्ये पछिल्लो ३० दिनमा कोरोना संक्रमणको दर ९५ प्रतिशत बढेको देखिएको छ । आज सम्म देशभर संक्रमितको संख्या १४ हजार भन्दा बढी पुगेको छ ।

संक्रमणको दर बढेपनि मान्छेको मनमा भने डर घटेको छ । जनजीवन सामान्यजस्तै भीडभाड हुन थालेको छ । संक्रमण समुदायमा समेत पुगेको संकेतहरू आएपनि लकडाउन खुकुलो भएसँगै भिडभाड बढेकाले अझै तीव्र गतिमा बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ । पूर्व स्वास्थ्य सचिव तथा विज्ञ डाक्टर प्रविण मिश्रले अहिले सबैभन्दा धेरै नागरिक सचेत हुनुपर्ने र होम क्वारेन्टाइनमा बसेर पनि सुरक्षित रहन सकिने बताउनुभयो । विश्व स्वास्थ्य संगठनले पनि नेपालमा कोरोना संक्रमण समुदायस्तरमा पुगिनसकेको जनाएको छ ।

तर, परीक्षण नै थोरै भएकाले समुदायमा पुगिसकेको हुन सक्ने आंशका धेरैको छ  । नेपालमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ  । ४ हजार ६ सय ५६ उपचारपछि निको भएर घर फर्किएका छन् । ९ हजार ३ सय ६० जनाको उपचार भइरहेको छ । देशभरका क्वारेन्टाइनमा ४८ हजार ३ सय ६२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ  । नेपालमा संक्रमित देखिएका ९५ प्रतिशत विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरू छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू