अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

‘राष्ट्रपतिलाई कार्पेट फेर्ने पैसाले क्वारेन्टिनको चुकुल हालिदिएको भए महिला बलात्कृत हुनु पर्दैनथ्यो’

बिआरटीनेपाल २०७७ असार ९ गते ७:५२ मा प्रकाशित

सांसदहरुले सरकार जनताको करबाट संकलित राज्य कोष उल्फाको धनका रुपमा उडाउनमा उद्दत रहेको भन्दै आपत्ति जनाएका छन् ।मंगलबार प्रतिनिधि सभामा बोल्ने सांसदहरुले कोरोना संक्रमण रोकथामका लागि पैसा छैन भन्ने सरकारले मनपरी ढुकुटीको रकम खर्च गरिरहेको भन्दै आपत्ति जनाएका हुन् ।

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले सरकारले राष्ट्रपतिको कार्पेट फेर्न करोडौं खर्च गर्नुको सट्टा क्वारेन्टिनका ढोकाहरुमा चुकुल हालिदिएको भए महिलाहरु बलात्कृत हुनुबाट जोगिन सक्थे भन्दै ध्यानाकर्षण गराउनु भयो ।सरकार जोगाउन सांसदहरुलाई चाररचार करोड बाँड्न सक्ने सरकारले, कोरोना संक्रमण नियन्त्रण गर्न सम्पूर्ण व्यवस्था हुँदाहुँदै पनि सरकारले नगरेको र कोरोनालाई झाडापखाला जस्तो मात्र ठानेको, सीमामा राम्रो परीक्षण नै नगरी मानिसहरुलाई भित्र्याएको उहाँले बताउनुभयो ।प्रधानमन्त्री कोरोना संक्रमण रोकथाम गर्नेभन्दा संक्रमितको टाउको गनेर बसिरहेको अरोप उहाँले लगाउनुभयो ।

अर्का सांसद डा. मीनेन्द्र रिजालले मुलुकका जनता कोरोनामा एउटा मास्क नपाइरहेका बेला प्रधानमन्त्रीलाई ५ करोडको गाडी किन किन्न खोजिएको हो ? जवाफ दिन माग गर्नुभयो । डा. रिजालले कि बेसार थेरापीको अपार सफलतापछि पैसा खर्च गर्ने ठाउँ नपाएर उल्फाको धन झै फजुल खर्च गर्न लागिएको हो भन्दै गृहमन्त्रीसँग जवाफ माग्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू