अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

संविधान संशोधन विधेयक प्रतिनीधिसभाबाट सर्वसम्मतिले पारित

बिआरटीनेपाल २०७७ जेठ ३१ गते ६:४७ मा प्रकाशित

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो ।

संविधान संशोधन विधेयकमा भएको मतदानमा पक्षमा २ सय ५८ सांसदले मतदान गरेका थिए भने विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् । प्रतिनिधिसभामा २ सय ६५ सांसद रहेका छन् । त्यसमध्ये आजको बैठकमा २ सय ५८ जनामात्र उपस्थित रहेका थिए । उपस्थित सवै सांसदहरूले संविधान संशोधनको पक्षमा मतदान गरेका हुन् । मतदानका क्रममा १२ सांसद अनुपस्थित रहेका थिए । ४ जना सांसद निलम्बनमा छन् भने सभामुखले मतदानमा सहभागिता जनाउने प्रचलन छैन ।

भारतीय अतिक्रमणमा परेका दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले जेठ ७ गते नक्सा जारी गरेर आफ्नो नक्सामा राखेको थियो । नेपालले अध्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापभित्रको नक्सामा राख्नका लागि संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो ।

उक्त विधेयक जेठ ९ गते संघीय संसद प्रतिनिधिसभामा दर्ता गरिएको थियो । जुन विधेयक जेठ १९ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो । भारतले लिपुलेक भएर मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालले नक्सा जारी गरेको हो ।

प्रतिनिधिसभाबाट पारित भएको विधेयक आइतबार राष्ट्रियसभामा प्रस्तुत गरिने भएको छ । संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पनि पारित हुने निश्चित छ । संविधान संशोधन विधेयक दुबै सदनबाट पारित भएपछि कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू