अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

गणतन्त्र दिवसमा प्रधानमन्त्री ओलीको गीत ‘बन्छ नमूना नेपाल’ यु–ट्युवमा सार्वजनिक (भिडियोसहित)

बिआरटीनेपाल २०७७ जेठ १५ गते ८:०२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली अब गीतकारका रुपमा पनि चिनिनुभएको छ । तेह्रौँ गणतन्त्रको दिवसको अवसर पारेर प्रम ओलीको गीत ‘बन्छ नमूना नेपाल’ आज यूट्युबमा रिलिज भएको छ । गीतमा स्वदेशमा श्रम, विकास निर्माण, सुशासन, बालबालिकाको विद्यालयमा पहुँच, भरपर्दो अस्पताल र सामाजिक सुरक्षासहितको नेपालको कल्पना गरिएको छ ।

देश लकडाउनमा परेका बेलामै उहाँले यसै वर्ष वैशाख २० गते रचना गरेको कवितालाई संगीतकार अशोककुमार राईले सङ्गीत भर्नाका साथै सङ्गीत संयोजन गर्नुभएको हो । यसअघि ओलीका ‘खर्पन’ (२०४१), मेरो जून हरायो (२०६२), समृद्धिको सपना (२०७५), ‘अब आँसु खसाउनु पर्दैन’ (२०७७) कविता प्रकाशित छन् । कारागारमा सिसाकलमले चुरोटका खोलमा लेखिएका उहाँका केही कविता प्रहरीले त्यतिबेलै जफत गरी लगिसकेको छ । पन्ध्र वर्षजति कारागारमा रहँदा कविता लेख्ने गर्नुभएका ओलीलाई अहिले राष्ट्रको नेतृत्व हाँकिरहेका बेला त्यही कवि मनले बेलाबेला कविता लेख्न लगाइरहन्छ ।

गीतकार ओलीको गीतमा सञ्जय तुम्रोक, दुर्गा परियार र श्रेयासी चेम्जोङले स्वर दिनुभएको छ । छरिएर रहनुभएका गायकगायिकालाई मोबाइलमा स्वर भर्न लगाएर सङ्गीतकार राईले तिनलाई संयोजन गर्नुभएको हो । अन्तरा साङ्गीतिक समूह बागबजारका तर्फबाट निर्मित गीतको भिडिओ पनि तयार गरिएको छ जसको संयोजन सावन श्रेष्ठ र सौहार्द राईले गर्नुभएको छ ।
– रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू