अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४९ | Colorodo: 07:04

देशका विभिन्न स्थानमा लेदोसहितको वर्षा

बिआरटीनेपाल २०७७ जेठ १४ गते २२:३४ मा प्रकाशित

मुलुकका विभिन्न स्थान लेदोसहितको बर्षा भएको छ । भारत र पाकिस्तानको मरुभूमिबाट नेपालमा धुलो उडेर आएको छ । यही बेला सक्रिय रहेको मौसमी प्रणालीले वर्षा गराएको छ । जसका कारण नेपालका विभिन्न भेगमा बुधबार हिले वर्षा भएको हो । विशेषगरी पूर्वी नेपालमा पहेलो कमेरो माटोजस्तो लेदो पानी परेको छ ।

पूर्वी नेपाल हुँदै नेपाल प्रवेश गरेको धुलो देशका विभिन्न सहरमा पुग्दा नपुग्दै वर्षासँग मिसिएर पृथ्वीको सतहमा त्यो धुलो खसेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो धुलो मङ्गलबारदेखि नेपाल आएको हो । भारतको राजस्थान र पाकिस्तानको मरुभूमि क्षेत्रमा हावाको वेग तीव्र हुँदा हुरीसँगै धुलो नेपाल प्रवेश गरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । लेदो पानी परेपछि महाशाखामा धेरैले के भएको भनेर जिज्ञासा राखिरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार त्यो क्षेत्र हुँदै नेपालमा जलवाष्पयुक्त वायुसँगै बेलाबेलामा हावाले धुलो लिएर आउने गर्छ । यो धुलोको प्रदूषण एकाध दिन मात्र कायम रहने उहाँले बताउनुभयो । किनभने त्यस क्षेत्रमा पनि पश्चिमी वायुको प्रभावले वर्षा गराउने वायु सक्रिय भइसकेको छ । हाल नेपालमा प्रि–मनसुनको समय घर्किंदै जाँदा पश्चिमी वायु लगायतको मौसम प्रणालीको असर कायम छ । जसका कारण नेपालका विभिन्न भेगमा निरन्तरजसो वर्षा र बदली लम्बिँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हालको मौसम प्रणालीको असर सकिएलगत्तै फेरि न्यूनचापीय प्रणाली सुदूरपश्चिमबाट नेपाल भित्रिँदै छ । जसले पश्चिम भेग लगायतका क्षेत्रमा बदलीको सम्भावना औँल्याएको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू