अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

रुकम घटनाबारे गृहमन्त्रीको जवाफः अनुसन्धानका लागि समिति गठन गरियो

बिआरटीनेपाल २०७७ जेठ १३ गते ७:३१ मा प्रकाशित

सांसदहरुले गृहमन्त्रीसंग जवाफ माग गरेपछि गृहमन्त्री थापाले घटनाको विषमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । दुई पक्षबीचमा झडप भएको भन्दै मन्त्री थापाले नवराज विक, टीकाराम सुनार र गणेश बुढाको शव भेरी नदीको बीच भागमा फेला परेको बताउनुभयो । यस्तै लोकेन्द्र सुनार, गोबिन्द शाही, सञ्जु बिक अझै बेपत्ता भएको र उनीहरुको खोजी कार्य जारी रहेको पनि उहाँले बताउनुभयो ।

युवती, युवतीका बुवा, आमा र प्रत्यक्षदर्शी १२ जनालाई प्रहरीले नियन्त्रण लिएर छानबिन अगाडी बढाएको पनि गृहमन्त्री थापाले जानकारी दिनुभयो । छानबिन समितिले सत्यतथ्य छानबिन गरि दोषीलाइ कानुनी कठघरामा ल्याउन सरकार प्रतिवद्ध रहेको मन्त्री थापाले बताउनुभयो ।

यसैबीच आजै राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयका उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभएको छ ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ वर्षका नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटा पक्ष र केटी पक्षबीच झडप भएको थियो ।

यसैबीच, चौरजहारी नपा–८ सोतीगाउँमा जेठ १० गते भएको घटनाको सत्यतथ्य अध्ययन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेतृत्वमा मानव अधिकारकर्मी सम्मिलित पाँच सदस्यीय टोली आज घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

जाजरकोट जिल्ला भेरी नपा–४ का २१ वर्षीय नवराज विश्वकर्मा, सोही ठाउँका १७ वर्षीय गणेश विएम र रुकुम जिल्ला चौरजहारी नपा–१ का २० वर्षीय टिकाराम विश्वकर्माको शव फेला परेको र अरु तीन जना व्यक्ति सम्पर्कमा नआएको भनिएको घटनाको सत्य तथ्य सङ्कलन गर्न उक्त टोली घटनास्थल लागेको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू