अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

सामाजिक सुरक्षा भत्ता नरोक्न मानवअधिकार आयोगको सरकारलाई आग्रह

बिआरटीनेपाल २०७७ जेठ १० गते ७:३१ मा प्रकाशित

राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई एकल महिला तथा अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न आग्रह गरेको छ । कोरोना महामारीको समयमा नेपाल सरकारबाट ६० वर्षमुनिका एकल महिला र अपांगता भएका व्यक्तिहरुलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता रोकिएको भन्ने सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

आयोगले शनिबार विज्ञप्ति जारी गरी सामाजिक सुरक्षा अन्तरगतको कार्यक्रमले उक्त समुदायमा आर्थिक र सामाजिकरुपमा सकारात्मक प्रभाव पर्नुका साथै उनीहरुमाथि हुने विभेदजन्य व्यवहार तथा हिंसामा केही कमी हुने देखिने उल्लेख छ ।

विज्ञप्तिमा ‘लकडाउन’को कारण अपांगता भएका व्यक्तिहरुलाई औषधि, स्वास्थ्य र शारीरिक उपकरण प्राप्त गर्न कठिन भएको, दृष्टिविहीन तथा सुस्त श्रवण भएका व्यक्तिहरुलाई राहत तथा सूचना प्राप्त गर्न र बैंकिङ सेवा प्राप्त गर्न कठिनाइ भएकोले आधारभूत मानवअधिकारको उपभोग गर्नसमेतबाट वञ्चित हुन गएको जनाइएको छ ।

६० वर्षमुनिका एकल महिला तथा निलो परिचयपत्र प्राप्त गरेका अति अशक्त अपांगता भएका व्यक्तिहरुले विगतदेखि प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नरोकी त्यसलाई सुचारु गर्न, अपांगता भएका व्यक्तिहरुको लागि औषधि तथा स्वास्थ्य र शारीरिक उपकरणहरुको उपलब्धताको सुनिश्चिता गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू