अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२१ | Colorodo: 14:36

कोरोना प्रभाव: नयाँ वर्षमा जात्रामय हुने भक्तपुर र थिमि यस वर्ष सुनसान

रमेश गिरी २०७७ वैशाख १ गते १५:०१ मा प्रकाशित

भक्तपुर, १ वैशाख: नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न आजको दिन विभिन्न जिल्लाबाट हजारौँको भीड लाग्ने गर्दथ्यो । परम्परागत तान्त्रिक विधिअनुसार वैशाख १ गते भक्तपुर र थिमिमा मनाइने बिस्केट जात्रा हेर्न बिहानदेखि घुइँचो हुन्थ्यो । भक्तपुरको ल्यासिंकखेलमा चैत मसान्तमा लिङ्गो उठाएपछि १ गते दिनभरि जात्रा गरी राति लिङ्गो नढालेसम्म भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत विभिन्न जिल्लाबाट जात्रा हेर्न आउने हजाराँैको घुइँचो यस वर्ष सम्झनामा मात्रै सीमित भयो ।

टौमढी युथ क्लब भक्तपुरका पूर्वअध्यक्ष विजय धौभडेल आजको दिन विगतका जात्रा सम्झेर, पुराना बिस्केटका फोटो, भिडियो हेरेर चित्त बुझाउनु परेको बताउनुहुन्छ । हजारौँको भीडमा जात्रामय हुने भक्तपुर यसरी सुनसान हुँदा मन खल्लो भएको उहाँ बताउनुहुन्छ । ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो जात्रा हेरेमा सहकाल आउने, मनोकाङ्क्षा पूरा हुने, शत्रु नाश हुने जनविश्वास रहे पनि यस वर्ष जात्रा हेर्न र मनाउन नपाएको स्थानीयवासी बताउँछन् । घरघरमा हुने भोज यस वर्ष कसैको घरमा भएन । न त स्वदेशी, विदेशी पाहुना नै आए । कोरोना भाइरसले यस वर्षको जात्रा, पर्व, संस्कृति, परम्परालाई पनि ओझेलमा पारेको बताउँदै धौभडेल कोरोनासँगको युद्ध जित्न पाए अर्को साल भव्यसँग जात्रा मनाऊँला भन्नुहुन्छ ।

फायल फोटो

सम्बन्धित सामग्रीहरू