अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

संकटको बेलामा विवेक प्रयोग गर्न र चिकित्सकलाई उच्च सम्मान गर्न प्रधानसेनापतिको निर्देशन

बिआरटीनेपाल २०७६ चैत १५ गते ५:३७ मा प्रकाशित

प्रधानसेनापति पूर्णचन्द्र थापाले चिकित्सकहरुको उच्च सम्मान गर्न र संकटका बेला बल नभई विवेक प्रयोग गर्न आह्वान गर्नुभएको छ । कोरोना रोकथाममा खटिएका आफ्ना सकल दर्जालाई १० बुँदे निर्देशन दिँदै प्रधानसेनापति थापाले सबभन्दा पहिला आफू सुरक्षित रहन निर्देशन पनि दिनुभयो ।

संकटको घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबभन्दा पहिला आफूलाई सुरक्षित राख्न थापाले निर्देशन दिनुभएको हो । आफूलाई डेढ मिटरको शारीरिक दूरी कायम राख्न सुझाव दिँदै प्रधानसेनापति थापाले बिसञ्चो भए घरमै अथवा ब्यारेकमै बस्न निर्देशन दिनुभएको छ । उहाँले स्वास्थ्य परीक्षण गर्ने र शारीरिक दूरी कायम गरी आइसोलेसनमा बस्न सुझाउनुभयो ।

आधिकारिक सूचनामा मात्र विश्वास राख्न सुझाव दिँदै थापाले आफ्ना सबै सहकर्मीप्रति सहयोगको भावना राख्न र यसबारेमा बुझाउन भन्नुभएको छ । चिकित्सकहरुलाई उच्च सम्मान गर्न अपिल गर्दै उहाँले नेपाल सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चुनौती दुबै रहेकोले बहादुरी होइन बुद्धि र विवेकको प्रयोग गर्न अनुरोध गर्नुभयो । प्रधानसेनापति थापाले संकटको यो घडीमा संयम र धैर्यता देखाउन आग्रह गर्दै कठिन समय केही अवधिका लागि मात्रै हो भन्ने ख्याल गर्न अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू