अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

रिक्सा चालकलाई ‘धुलो’ को सम्मान

बिआरटीनेपाल २०७६ फागुन १४ गते ११:४८ मा प्रकाशित

काठमाडौँ । शुक्रवार अर्थात् १६ फागुनमा प्रदर्शन हुन लागेको ‘धुलो’ फिल्मले प्रचार प्रसारलाई निकै तीव्रता दिएको छ । ‘धुलो’ निर्माण पक्षले बुधवार राजधानीको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक्रम गरी लामो समयदेखि रिक्सा चलाएर जीवनयापन गर्दै आएका दुई जना रिक्सा चालकलाई सम्मान पत्रसहित सम्मान गर्‍यो ।

सम्मानित हुनेमा विगत चार दशकदेखि ठमेल, क्षेत्रपाटी एरियामा रिक्सा चलाउँदै आएका हिरालाल तामाङ र दुई दशकदेखि सोही स्थानमा रिक्सा चलाउँदै आएका बलबहादुर श्रेष्ठ छन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चलचित्र कर्मी नीर शाह, विशिष्ट अतिथि नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्का र निर्देशक प्रद्युम्न मिश्रले सम्मान गरेका थिए । करिब एक सय जना रिक्सा चालकलाई ‘धुलो’ अङ्कित ज्याकेट प्रदान गरिएको कार्यक्रममा फिल्मका तर्फबाट नागार्जुन एकेडेमीमा आगामी शैक्षिक सत्रदेखि रिक्सा मजदुरका दुई जना छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था मिलाइएको घोषणा गरियो । कार्यक्रममा ‘धुलो’ ले गरेको समाजीक कार्यको चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणालगायतका अतिथिले प्रशंसा गरेका थिए । कार्यक्रमपछि ‘धुलो’मा विशेष भूमिकामा रहेका अभिनेता शाह, प्रमुख भूमिकामा अभिनीत बुद्धि तामाङ,निर्देशक मिश्र,चलचित्र निर्माता सङ्घका अध्यक्ष अधिकारी, निर्देशक समाजकी अध्यक्ष राणालगायत फिल्मको युनिटले रिक्सामा क्षेत्र पाटी परिक्रमा गरेको थियो ।

राजधानीमा रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मजदुरको वास्तविक कथामा फिल्म निर्माण गरेकाले उनीहरूकै सम्मानमा कार्यक्रम आयोजना गरेको निर्देशक मिश्रले बताए । कार्यक्रममा बोल्दै अभिनेता शाहले ‘धुलो’ ले मजदुर र मजदुरीको सम्मान गरेकोमा खुसी व्यक्त गरे । त्यसै गरी, चलचित्र निर्माता सङ्घका अध्यक्ष अधिकारीले ‘धुलो’ यथार्थपरक कथामा निर्माण गरिएकाले हरेक मान्छेको मन छुने विश्वास व्यक्त गरे । अभिनेता तामाङले आफू ‘धुलो’ मा वास्तविक जीवनहरूसँग नजिक रहेको पात्रमा प्रस्तुत भएको बताउँदै दर्शकको प्रिय बन्ने आशा व्यक्त गरे ।

दीपा धरेलको प्रस्तुति रहेको फिल्ममा बुद्धि तामाङ,अग्रज केसी,सृजना सुब्बा, प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बाल कलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवा विशेष भूमिकामा छन् । लक्ष्मी गौतम र नानीराम फुयाँल निर्माता रहेको फिल्मको प्रोजेक्ट एडभाइजरमा सिके वाग्ले छन् । केशव मिश्र र दीपक समीरको गीत,शङ्कर थापा र जुगल डङ्गोलको सङ्गीत, रविन आचार्यको छायाङ्कन रहेको फिल्म १६ फागुनमा एकल प्रदर्शनमा उत्रदैछ ।

प्रतिक्रिया