अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५४ | Colorodo: 23:09

प्रहरीले आस्थालाई पक्राउ गरी अधिकारको दुरुपयोग गर्यो– सांसद ओली

बिआरटीनेपाल २०७६ माघ १४ गते ७:०१ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारबाही अगाडि बढाएको आरोप लगाउनुभएको छ । राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले छिमेकी देश चीनमा ‘कोरोनाभाइरस’ फैलिरहेको हुँदा विशेष सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपाका सांसद बलराम बाँस्कोटाले ‘वैज्ञानिक भूमि सुधार र भूमि व्यवस्थापन गर्ने नेकपाको चुनावी घोषणापत्रको कार्यान्वयन कहाँसम्म पुग्यो ?’ भन्ने प्रश्न गर्नुभयो ।

सोही पार्टीका सांसद कमलाकुमारी ओलीले उद्योग मन्त्रालयले ‘एक पालिका एक औद्योगिक ग्राम’को अवधारणा अगाडि बढाइरहेको अवस्थामा बढीभन्दा बढी महिलालाई सहभागी गराउन माग गर्नुभयो । राष्ट्रिय जनता पार्टीका सांसद वृषेशचन्द्र लालले लोकतान्त्रिक संसदीय अभ्यासमा सरकार गम्भीर नभएको र संसदमा उठेका प्रश्नको उत्तर नदिएको आरोप लगाउनुभयो ।

नेकपाका सांसद जीवन बुढाले स्थानीय सरकारसँग विकास गर्ने गुरुयोजना नभएको हुँदा संघीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका सांसद धनकुमारी खतिवडाले वार्षिक रु १० अर्ब कृषि अनुदानका लागि छुट्याइएको भएपनि लक्षित साना किसानसम्म पुग्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू