अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 12:48

बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्रीको आग्रह

बिआरटीनेपाल २०७६ माघ ७ गते ६:४१ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले १५ अर्ब पूँजी भएका बैंकले २(३ अर्ब रुपैयाँ नाफा कमाउनु धेरै नभएको बताउनुभएको हो । कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नाफा अर्बमा देखिए पनि प्रतिशेयर आम्दानी कम हुने बताउनुभयो ।

उहाँले देशको अर्थतन्त्र सकारात्मक हुनुमा बैंकहरुको भूमिका महत्वपूर्ण हुनेसमेत बताउनुभयो । व्यापार घाटा बढ्दै जाने अवस्थाको अन्त्य भएको तर रेमिट्यान्स बढी चाहिने, राजश्व बढी उठाउनु पर्ने, बैंकको ब्याजदर कम हुनुपर्ने यी सबै एकसाथ खोज्दा अर्थतन्त्रमा असर हुने बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ५० प्रतिशत रकम साना तथा मझौला क्षेत्रमा प्रवाह गर्न समेत आग्रह गर्नुभयो । उहाँले कृषि विकास बैंकले १० लाख भन्दा कमको कर्जा कुल कर्जाको ८० प्रतिशत हुनुले साना तथा मझौला कर्जामा बैंकको ध्यान गएको स्पस्ट हुने बताउँदै निजी क्षेत्रका बैंकहरुले पनि यस्तो कर्जा बढाउनुपर्ने बताउनुभयो ।

उहाँले नेपालको अर्थतन्त्रको आधार नै साना तथा मझौला उद्योग व्यवसाय नै भएकाले त्यसमा सहयोग गरी अर्थतन्त्रलाई सुदृढ बनाउन सहायोग गर्नेगरी ऋण लगानी गर्न आग्रह समेत गर्नुभयो । अर्थमन्त्री खतिवडाले नेपालको वित्तीय क्षेत्र दक्षिण एसियामै उत्कृष्ट भएकोसमेत बताउनुभयो । उहाँले निष्कृय कर्जाको अवस्था पत्याउनै नसक्ने गरी तल रहेको उल्लेख गर्दै कर्जा प्रवाह गर्दा ज्ञान सीप भएका युवाहरुलाई अवसर दिन आग्रह गर्नुभयो ।

मन्त्री खतिवडाले वित्तीय क्षेत्रमा आएको प्रतिस्प्रधात्मक सुधारको अवस्थाले नै यस वर्ष सरकारले पनि तीनवटै सरकारी बैंकबाट उच्च लाभांश लिन पाएकोसमेत बताउनुभयो ।

प्रतिक्रिया