अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 16:15

नेपालको पूर्वाधार विकासका लागि मात्र एमसिसी सम्झौता भएको थियोः राप्रपा अध्यक्ष थापा

बिआरटीनेपाल २०७६ माघ ४ गते ८:०२ मा प्रकाशित

राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताउनुभएको छ । राप्रपा निकट ट्रेड युनियन महासङ्घ नेपालद्वारा आज हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले त्यो सम्झौता सामरिक हतियारको ओसारपसार र सैन्य गुटमा विभाजित हुनका लागि नगरिएको स्पष्ट पार्नुभयो ।

अध्यक्ष थापाले नेपालको पूर्वाधार विकासका लागि मात्र एमसिसी सम्झौता भएकाले सत्तारूढ दलका आन्तरिक विवादका कारण त्यसलाई अवरुद्ध गर्न नहुने उल्लेख गर्दै उक्त सम्झौता रद्द हुँदा हेटौँडा–भीमफेदीको सडक स्तरोन्नति, प्रदेश नं १ अन्तर्गत पर्ने चार आली फिदिम सडक निर्माणलगायत हेटौँडाको रातोमाटे हुँदै बुटवलसम्मको हाइटेन्शन विद्युत् लाइन निर्माणमा समेत ठूलो अवरोध पुग्ने ठहर गर्नुभयो ।

सत्तारूढ दलले आन्तरिक विवाद मिलाएर प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यथाशीघ्र गर्नुपर्ने र संसद्लाई लामो समयसम्म अवरुद्ध गर्नु नहुने बताउँदै अध्यक्ष थापाले प्रजातन्त्रको सुदृढीकरणका लागि मुलुकमा वैदिक धर्मसंस्कृतिको संवद्र्धन गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यत्रय मधु अधिकारी, विन्दु पहाडी, मीना स्वर्णकार र ट्रेड युनियन महासङ्घ नेपालका अध्यक्ष हिक्मत सिंह भण्डारीले राप्रपाले विदेशमा रहेका युवाहरुलाई निकट भविष्यमा स्वदेशमै रोजगारीमूलक अवसर जुटाउन ट्रेड युनियन महासङ्घले आत्मसात् गर्ने विश्वास व्यक्त गर्दै समाजलाई राजनीतिक स्थायित्व प्रदान गर्न सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सबै दलसँग सहकार्य गरेर सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू