अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

महरा प्रकरण– रोशनीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्र गराउन आदेश

बिआरटीनेपाल २०७६ पुष २७ गते ८:११ मा प्रकाशित

जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी प्रयासबाट पीडित भएकी भनिएकी रोशनी शाहीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको बकपत्र गराउन आदेश दिएको छ। आइतबार तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध लागेको करणी प्रयास मुद्दाको सुनुवाइ गर्दै जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलाशले स्वास्थ्य परीक्षण गर्ने चिकित्सक लगायत अन्य प्रमाणसमेत जुटाउन आदेश दिएको हो।

शाहीको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसुतिगृहका तीनजना डाक्टरको टोलीले गरेको थियो। जिल्ला अदालतले मंसिरको अन्तिम साताबाट मुद्दासँग जोडिएका व्यक्तिहरुको बकपत्र गराउन सुरु गरेको थियो। रोशनी स्वयंको, महराका सुरक्षाकर्मी, घटनाबारे सुरुमा जानकारी पाएका सांसद, घटनास्थल पुगेका व्यक्ति लगायतको बकपत्र भए पनि चिकित्सकको बाँकी रहेकाले प्रमाण बुझ्ने कार्यलाई सक्न अदालतले आदेश लिएको हो।

जिल्ला अदालत काठमाडौँका अनुसार घटनास्थल मुचुल्का हस्ताक्षर गर्ने केही व्यक्तिरुको पनि बकपत्र गराउन बाँकी रहेकाले त्यसलाई पूर्णता दिन भनेको हो। मंसिर २९ र ३० गते अदालत पुगेर महराले आफूमाथि करणी प्रयास नगरेको भन्दै होस्टाइल भएकी थिइन्। सुरुमा महानगरीय प्रहरी वृत्त कोटेश्वरमा महराले तीनकुनेस्थित आफ्नो कोठामै आएर जबरजस्ती करणी प्रयास गरेको जाहेरी दिएकी शाहीले पछि बोलि फेर्दै आफूमाथि करणी प्रयास नभएको भन्दै प्रहरी कार्यालय र अदालतमा समेत निवेदन दिएकी थिइन्।

तत्कालिन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो। जिल्ला अदालतको थुनछेक आदेशविरुद्धको पुनरावेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनले जिल्लाकै आदेश सदर गरेको थियो। आदेश सदर गर्दै उच्च अदालतले प्रमाण संकलन भएको एक महिनाभित्र मुद्दाको फैसला गर्न पुस ४ गते आदेश दिएको थियो।

महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू