अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५७ | Colorodo: 13:12

कीर्तिपुर रङ्गमञ्चमा ‘जामुनको रुख’

बिआरटीनेपाल २०७६ पुष २१ गते ७:२२ मा प्रकाशित

काठमाडौँ । कीर्तिपुर राराहिलस्थित थिएटर मल–कीर्तिपुर रङ्गमञ्चमा नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चन सुरु भएको छ । कृष्ण चन्दरको कथामा आधारित नाटकलाई रङ्गकर्मी केदार श्रेष्ठले नाट्य लेखन, परिकल्पना तथा निर्देशन गरेका छन् ।

शुक्रवारदेखि सुरु भएको यसै नाटकबाट कीर्तिपुर रङ्गमञ्चमा नियमित नाटक मञ्चन सुरु भएको हो । गत वर्ष फागुनमा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवबाट नाटक घर कीर्तिपुर रङ्गमञ्चको उद्घाटन भएको थियो । यस बिचमा विभिन्न कार्यशाला तथा केही नाटकहरू मञ्चन भए पनि नियमित मञ्चन भने ‘जामुनको रुख’बाट भएको हो ।

हास्यव्यङ्ग्य शैलीमा प्रस्तुत गरिएको ७० मिनेट लामो नाटक सरकारी सचिवालय अगाडि बुढो जामुनको रुख ढलेर एक आम मान्छेलाई थिचेपछि सुरु हुन्छ । थिचिएको मान्छे निकाल्न कसैले जिम्मेवारी लिनुको सट्टा कर्तव्य र मानवीयतालाई पाखा लगाएर एकपछि अरूलाई जिम्मेवारी पन्छाउ“दै नाटकको कथा अघि बढ्छ । अझै थिचिएको मान्छेप्रतिभन्दा ठिक उल्टो ढलेको बुढो जामुनको रुखप्रति सहानुभूति प्रकट गर्दै अमानवीयताको हदसम्म पुग्छ ।

समग्रमा ‘जामुनको रुख’ वर्तमान जटिल र विसंगत सामाजिक– राजनीतिक अवस्थाको सापट कथा हो । पद र पावरमा रहेकाको अनिर्णय, अनियमितता, अकर्मण्यता, अव्यवस्था, असंवेदना, अमानवीयता लगायतको कथा हो । वर्तमान समयमा खोक्रिदैं गएको सरकारी प्रणाली, राजनीतिक व्यवहार र कर्मचारी संयन्त्रमाथिको सिधा व्यङ्ग्य हो । यसर्थ यो नाटकलाई निर्देशकले दिएको अङ्ग्रेजी सब टाइटल ‘सेमलेस भल्गारिटी’ अर्थात् लाजविहीन अश्लीलता सार्थक लाग्छ ।

उर्दू र हिन्दी भाषी साहित्यकार कृष्ण चन्दरको लोकप्रिय कथामध्ये एक ‘जामुनको रुख’जस्तै नाटकलाई पनि सरल र सरस रूपमा प्रस्तुत गर्ने प्रयास मञ्चमा देखिन्छ । त्यति हुदाहूदै नाटक सकिँदासम्म दर्शकलाई गम्भीर बनाएर मञ्चमा नाटकको अन्तिम प्रकाश निभ्छ ।

त्यसो त निर्देशक केदार भन्छन्, ‘तर हरेक सरलताभित्र जटिलता र जटिलताभित्र सरलता कलाको स्वाभाविकता हो । यसर्थ तपाईँको भौतिक आँखाले देखेका दृश्यहरूभन्दा पनि भयानक दृश्यहरू तपाईँको चेतन आ“खाले देख्नुभयो भने नाटक अर्थपूर्ण बनेछ भनेर बुझ्नेछु ।’

एकदमै सामान्य कथालाई रमाइलो, सुन्दर र अर्थपूर्ण दृश्यहरूमा नाटकमा सटिक रूपमा उतारिएको छ । नाटकले प्रस्टै रूपमा नेपाली सरकारी कार्यालय, त्यहाँका कर्मचारी र काम गर्ने तौरतरिकालाई दृश्यात्मक कथा भन्दै यस परिपाटी भोग्न बाध्य आम मान्छेको निरीह अवस्थालाई चित्रण गरेको छ । अरू कथा र दृश्यहरू त नाटक हेरेपछि नै देख्नुहुनेछ । नाटक आउँदो माघ ४ गतेसम्म हरेक दिन बेलुकी ४ः३० बजे र शनिवार दिउसो २ बजे पनि कीर्तिपुर रङ्गमञ्चमा मञ्चन हुनेछ । ‘जामुनको रुख’मा शङ्कर भण्डारी, कञ्चन सङ्ग्रौला, मनिष ब्याञ्जु, शक्ति पाख्रिन, हिरा महर्जन, स्नेहा रसाइली, रोशन केसी, सरोज राईले अभिनय गरेका छन् ।

यही नाटकसँगै थिएटर मलमा मङ्गलवारदेखि ‘क्यानभास एट थिएटर’ नामक कला प्रदर्शनी पनि सुरु हुदैछ । सो प्रदर्शनीमा विभिन्न विधाका १३ युवा कलाकारहरूका कलाहरूको प्रदर्शनी हुने थिएटर मलका कला संयोजक सुजिता महर्जनले जनाएका छन् ।

यस कला प्रदर्शनीको उद्घाटन कार्यक्रम तथा नाटक हेर्न निमन्त्रणा । मिति पुस २२ गते मङ्गलवार, दिउँसो ठिक ३ः३० बजे । नाटक ४ः३० बजे ।

प्रतिक्रिया