अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठकोे राष्ट्रियसभामा उम्मेदवारी

बिआरटीनेपाल २०७६ पुष २० गते ८:०६ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन अधिकृत कार्यालय कास्की पोखरा पुगेर आइतबार श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँसँगै नेत्री भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत हुनुहुन्छ । बस्नेत गोरखाबाट प्रदेशसभा सदस्य हुनुहुन्छ । समर्थक दिलमाया रोका हुनुहुन्छ । त्यस्तै न्यौपानेका प्रस्तावकमा किरण गुरुङ र समर्थकमा मञ्जु गुरुङ रहनुभएको छ । यसअघि, नेकपाको सचिवालय बैठकले गण्डकी प्रदेशको अन्यबाट श्रेष्ठलाई उठाउने निर्णय गरेको थियो। माघ ९ गते रिक्त राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

यसैगरी, नेपाली काग्रेसबाट राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशबाट सूर्यप्रसाद रेग्मी र विमला गौचनले उम्मेदवारी दर्ता गराउनुभएको छ । अन्य सदस्यमा उम्मेदवारी दिएका रेग्मीको प्रस्तावकमा गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल र समर्थक भीरकोट नगरपालिका स्याङ्जाका प्रमुख छायाँराम खनाल रहनु भएको छ ।

त्यस्तै महिला सदस्यमा उम्मेदवारी दिएका विमला गौचनको प्रस्तावकमा जलजला गाउँपालिका पर्वतकी उपाध्यक्ष सीमा गर्बुजा पुन र समर्थक स्याङ्जा भीरकोट नगरपालिकाकी उपमेयर सीमा कर्माचार्य रहनु भएको छ ।

राष्ट्रिय जनमोर्चाले पनि अन्यतर्फ गण्डकी प्रदेश अध्यक्ष शंकर बरालको उम्मेदवारी दर्ता गराएको छ । उहाको प्रस्तावकमा बाग्लुङका सांसद कृष्ण थापा र बाग्लुङकै सांसद पियारी थापा रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू