अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

हिमाली जिल्ला रसुवाको प्राकृतिक दृश्य समेटिएको चित्रकला प्रदर्शनी काठमाडौँमा

बिआरटीनेपाल २०७६ पुष १९ गते ८:५६ मा प्रकाशित

काठमाडौँ । रसुवा कला यात्राका क्रममा १६ चित्रकारले बनाएका चित्रको आजदेखि काठमाडौँमा प्रदर्शनी सुरु भएको छ । शनिबारीय चित्रकला कार्यशाला अभियानका अभियान कर्मीले गत कात्तिक तेस्रो साता रसुवामा पुगेर स्थलगत रूपमा चित्र बनाएका थिए । काठमाडौँको ठमेल स्थित मिथिला आर्ट ग्यालरीमा ३१ चित्रको प्रदर्शनी गरिएको हो । चित्रकला प्रदर्शनी चार दिनसम्म चल्ने रसुवा कला यात्राका संयोजक दिवेशमान प्रधानले जानकारी दिए ।

प्रदर्शनीको प्रतिनिधि सभाका सांसद मोहन आचार्यले उद्घाटन गर्दै कागजमा थ्रिडी स्वरूपमा दृश्य उतार्नु सामान्य कार्य नभएको उल्लेख गरे । यस्ता कार्यक्रमले नेपालको चिनारीलाई विश्वमा पुर्‍याउन सहयोग गर्ने भन्दै उनले यसले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । उनले चित्रकलाका क्षेत्रको विकासकालागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले प्राकृतिक छटालाई दुरुस्तै सिर्जना गरेर यहाँको महत्त्वलाई उजागर गरेकोमा कलाकारलाई धन्यवाद दिए । यसले पर्यटन विकासमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

चित्रकला प्रदर्शनी जिल्लाकै पहिलो भएको जानकारी दिँदै रसुवाको कालिका गाउँपालिकाका अध्यक्ष सीताकुमारी अधिकारीले लुकेको प्राकृतिक महत्त्वका चिज वस्तुलाई प्रस्फुटन गराएकोमा कलाकारको प्रशंसा गरिन् ।

कार्यक्रम संयोजक प्रधानले विगत १६ महिनादेखि हरेक शनिवार कलाकारले स्वतःस्फूर्त रूपमा स्थलगत चित्रकला कार्यशाला आयोजना गरेको जानकारी गराउँदै सोही सिलसिलामा कलाको माध्यमबाट काठमाडौँ र रसुवालाई जोड्ने प्रयास गरिएको बताए ।

स्थानीय चित्रकार शशीकुमार डङ्गोलले काठमाडौँबाट रसुवामा पुगेर चित्रकला कार्यशाला आयोजना गर्नु स्थानीयका लागि महत्वपूर्ण कुरा भएको बताए ।

अग्रज कलाकार गेहेन्द्रमान अमात्यले नेपाल भ्रमण वर्षको सुरुआतका अवसरमा जिल्लामा पुगेर चित्रकला कार्यशाला गरी काठमाडौँमा ल्याएर प्रदर्शनी गर्दा मुलुकको पर्यटन प्रवर्द्धनमा ठुलो सहयोग पुग्ने आशा व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू