अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३२ | Colorodo: 21:47

सूचना प्रविधि विधेयक सच्याउन काँग्रेसको माग

बिआरटीनेपाल २०७६ पुष १६ गते ८:१५ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसदको विकास तथा प्रविधि समितिले हालै पास गरेको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सच्याउन सरकारसँग माग गरेको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज विज्ञप्ती जारी गर्दै समितिबाट अगाडि बढाइएको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, संविधानको प्रतिकूल हुने र मौलिक अधिकार हनन हुने हुँदा विधेयक सच्चाएर मात्र अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

कुनै पनि बाहानामा नागरिकको स्वतन्त्रता र अधिकार कुण्ठित गर्ने र संविधानको प्रतिकूल ऐन नियम बनाउने सरकारको कदमप्रति काँग्रेसले विरोध गरेको हो । संविधानको प्रावधानको प्रतिकूल हुने, नागरिकका विचार एवं अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकारको कदम रोक्न पनि कांग्रेसले सबै पक्षसँग आग्रह समेत गरेको छ । संविधानले नागरिकको स्वतन्त्रता तथा मौलिक अधिकारको सुचिश्चितता गरेको भएपनि वर्तमान सरकारले नागरिकको मौलिक हक तथा संविधानका प्रावधानका प्रतिकूल नीति नियम बनाउन तल्लीन रहेको काँग्रेसको आरोप छ ।

काँग्रेसको विरोधका बाबजुद समितिको पुस १३ गते आइतबार बसेको बैठकले बहुमतका आधारमा विधेयक पास गरेको थियो । समितिले पास गरेको विधेयकमा कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्पेषण गरेमा पाँच वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने उल्लेख छ । समितिले पास गरेको विधेयक प्रतिनिधिसभामा पेश हुनेछ र, दुबै सदनले पास गरे मात्र कानून बनेर आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू