अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

नेपाली चेलीहरु निजी ‘अपार्टमेन्ट’मा समेत बेचिने गरेको खुलासा

बिआरटीनेपाल २०७६ पुष १५ गते ८:४२ मा प्रकाशित

विदेशका कोठीहरुमा मात्र नभइ नेपाली चेलीहरुलाई यौनशोषणका लागि निजी ‘अपार्टमेन्ट’हरुमासमेत बेचिने गरेको खुलासा भएको छ । माइती नेपालले मंगलबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा भारतलगायत अफ्रिकी मुलुकहरुबाट गरिएको उद्धारका क्रममा नेपाली चेलीहरुलाई अपार्टमेन्टहरुमा समेत बिक्री गर्न थालेको पाइएको जनाएको हो । मानव बेचविखन र ओसारपसारले नयाँ रुप लिन थालेको माइती नेपालले उल्लेख गरेको छ ।

चेलिबेटी बेचविखन नघटेको पाइएपछि खोजी गर्दा अपार्टमेन्टमा नेपाली चेलीहरु देह व्यापारमा लगाइने गरेको पाइएको माइती नेपालले जनाएको हो । अपार्टमेन्टमा प्रहरी तथा उद्धारकर्मीले शंका नगर्ने भएकाले अपार्टमेन्टलाई कोठीको रुपमा प्रयोग गर्न थालेको पाइएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताउनुभयो ।

अध्यक्ष खड्काले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकसँग नेपाल सरकारले आवश्यक समन्वय नगरेका कारण पनि नेपाली चेलीहरुले दुःख भोग्नुपरेको जानकारी गराउनुभयो । मानव तस्करहरुले अपनाउने नयाँ–नयाँ तरिकाका कारण हराएकाहरुको खोज–तलास र उद्धार थप जटिल बनेको माइती नेपालले जनाएको छ । सामाजिक सञ्जाललगायतको दुरुपयोग गरी मानव तस्करहरुले आफ्नो सम्पर्क संयन्त्र सहज बनाउनु थप चुनौतीको विषय बनेको जनाइएको छ ।

यसैबीच, माइती नेपालले सन् २०१९ मा मात्रै दुई हजार ४८५ जनाको उद्धार गरेको जनाएको छ । साथै, ४८ ओटा मानव बेचविखनको मुद्दा र १३६ ओटा जबर्जस्ती करणीका मुद्दाहरुसमेत दर्ता गराइ कानुनी प्रक्रिया अगाडि बढाइएको माइती नेपालले जनाएको छ । पत्रकार सम्मेलनमा उद्धार गरिएका युवतीहरुले आफूहरु विभिन्न लोभलालचमा फस्न पुगेको बताउँदै यसप्रति सचेत हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू