अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 05:36

राष्ट्रियसभा बैठक– ‘सरकार पञ्चायती शैलीमा उत्रियो’– कांग्रेस, भारतलाई हेपाहा प्रवृत्ति त्याग्न नेकपा सांसद्को चेतावनी

बिआरटीनेपाल २०७६ पुष १४ गते ८:११ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वर्तमान सरकार पञ्चायती शैलीमा उत्रिएको आरोप लगाएको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा प्रतिपक्ष दल कांग्रेसका सांसद बद्री पाण्डेले राजनीतिक आस्थाका आधारमा अपराधमा संलग्नलाई जोगाउने र आस्थाकै आधारमा निर्दोषलाई फसाउने गरेर सरकार पञ्चायती शैलीमा अघि बढेको आरोप लगाउनुभयो । उहाँले देशभर नै आस्थाका आधारमा सत्ता र सत्तारुढ दलसँग नजिक रहेकाहरुले गरेका अपराधबाट उन्मुक्ति पाउने गरेको जिकिर गर्नुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद बलरामप्रसाद बास्कोटाले भारतबाट एकपछि अर्को गरी नेपालको सिमाना मिच्ने काम भइरहेको भन्दै हेपाहा प्रवृत्ति त्याग्न चेतावनी दिनुभयो । सांसद बास्कोटाले उखु किसानका समस्या तत्काल सम्बोधन गर्न र आकाशिँदै गएको बजार मूल्य नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा राजपा नेपालका सांसद वृशेषचन्द्र लालले भारतीय सहयोगमा रेलको स्टेसन, लिक र अरु काम भएपनि सरकारले गर्नुपर्ने कुनैपनि काम गर्न नसकेको भन्दै ‘रेलको स्टेसनमात्र बनाउने कि रेल पनि चलाउने ?’ भन्दै प्रश्न गर्नुभयो । बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

सोमबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले ‘नेपाल विशेष सेवा विधेयक–२०७६’ पेस गर्नुभएको छ । यसअघि, उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रकाश पन्थले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । यस्तै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू