अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

‘म पनि इन्सपेक्टरको छोरी हुँ’ भन्दै ‘डीआइजी’लाई चक्कु ताकेपछि…

बिआरटीनेपाल २०७६ पुष १२ गते ८:३८ मा प्रकाशित

नारायण ढुंगाना (रासस)

 

शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल (डीआइजी)सहितको टोली सडक अनुगमनमा थियो । टोलीमा काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

काठमाडौंको कमलादीस्थित गणेश मन्दिरनजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने–ओछ्याउनेसहित एक दम्पती सुत्ने तरखरमा थिए । चिसोका कारण खोकी लागेकाले श्रीमती औषधि खाँदै त श्रीमान् मदिरामा लठ्ठ भेटिए । प्रहरी र अभियानकर्मीले उनीहरुलाई फकाउँदै सडकमा नबस्न अनुरोध गरे । महिला आश्रममा जान मानिनन् । उनले मोबाइल उठाउँदै कुनै एक व्यक्तिलाई फोन गरेजस्तो गरेर आफूलाई लैजान लागेको कुरा सुनाइन् ।

नमाने जसरी पनि लैजाने प्रहरीले अडान कसे । महिलाले भनिन्–‘भोलि आफ्नै घर जान्छौं । आज छाडी दिनोस् ।’ यसरी उनले अनुरोध गरेको यो तेस्रोपटक थियो । सहजरुपमा उठ्न नमानेपछि प्रहरी र अभियानकर्मीले उठाउने प्रयास गर्दा–गर्दै उनले सिरानबाट चक्कु निकालिन् । ‘म पनि इन्सपेक्टरको छोरी हुँ । ल आइज त मेरो नजिक, सबैलाई सिध्याउँछु । पुलिसलाई नि हान्छु’–उनी चक्कु ताक्दै घुम्न थालिन् ।

अश्लील शब्दसमेत प्रयोग गरिन् । सामुन्ने रहेका नायब महानिरीक्षक पोखरेल पनि छक्क परे । एकछिन त सबै अक्क न बक्क भए । गाडीमा बसिसकेका श्रीमान्लाई फिर्ता ल्याइदिने शर्त राखेपछि उनले चक्कु थन्क्याइन् । अभियानकर्मीले चक्कु खोसेपछि बल्ल उनी आश्रम जान तयार भइन् ।

घर धादिङको नौबिसे बताउने दम्पती मन्दिरमा मागेर बस्ने गरेको निकै लामो समय भइसक्यो । स्थानीयकाअनुसार यो दम्पती दिउँसोमा विभिन्न अश्लील शब्द भनेर मानिसलाई थर्काउने र हल्लाखल्ला गर्नेमध्येका प्रमुख हुन् ।

शान्ति–सुरक्षामै चुनौती हुनेगरी बेला–बेलामा यस्ता हर्कत सडकमा हुने गरेका छन् । टेकुस्थित एक घरको सिँढीमा सुतिरहेका एक जमातलाई पनि राति नै उद्धार गरियो । स्थानीयकाअनुसार उनीहरु भट्टीमा बसेर मदिरा पिउने अनि हरेक दिन चोकमा झै–झगडा गर्दै आएका थिए । यहाँ महिला पुरुष एउटै गुँड बनाएर सुतिरहेका भेटिए ।

सडकमा यसरी हतियार देखाएर तर्साउन खोज्ने, कुटपिट गर्न खोज्ने, टोली देखेपछि भाग्नेहरु धेरै छन् । काठमाडौंको सडकमा असहाय र बेसहाराहरु न्यून रहेपनि यस्ता व्यक्तिहरु अत्यधिक रहेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बताउँछन् ।

अधिकांश पेशेवर मगन्ते, मदिरा सेवन गरेर पल्टिने र दिनभर मजदुरी गरेर राति सडकमा बस्नेहरु छन् । यस्ता व्यक्तिले भने कुनै न कुनै हर्कत देखाउने गरेका अर्का अभियानकर्मी सुमन बर्तौलाको अनुभव छ । डीआइजी पोखरेलले यस्ता गतिविधि रोक्न सुरु भएको अभियान सराहनीय रहेकाले कुन ठाउँमा कसरी प्रस्तुत हुनुपर्छ, त्यसका लागि प्रहरी तयार रहेको बताए ।

कुनै मानवको लागि मानिस आफ्नो जीवन समर्पण गर्छ भन्ने कुरा महत्वपूर्ण भएको उल्लेख गर्दै प्रहरी नायब महानिरीक्षक पोखरेलले आश्रमका अभियानकर्मीलाई संकेत गर्दै भने–‘मानव हुनुको अर्थ तपाइँहरुको सेवामा देख्छु म । एउटा मानव कति पीडा भोगिरहेको छ, उसलाई सार्थक जीवन दिन आफ्नो कस्ट भुलेर अभियान चलाउनुभएको छ ।’ उनले मगन्तेको व्यवस्थापन र असहायको आँसु पुछ्ने पुनित कार्यको जति प्रशंसा गरेपनि नपुग्ने बताए । शुक्रबार राति काठमाडौंका सडकबाट मात्रै ३८ जनाको उद्वार गरियो । सबै मदिरा पिएका र पेशेवर मगन्ते मात्रै थिए ।

कालीमाटीको सडकमा विगतमा बोरा ओछ्याएर लस्करै ४३ जना सुतेको भेटिएका थिए । उक्त अभियानका कारण शुक्रबारको रात त्यो सडक खाली थियो । विगतमा यत्रतत्र मानिस सुतिरहेका देखिने सडकक्षेत्र विस्तारै खाली देखिन थालेको अभियानमा सहभागी महानगरीय प्रहरी परिसर काठमडौंका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

सडकमा बसेर नमाग्न प्रचार अभियान सुरु

सडकमा बसेकाहरुको उद्धार अभियानका कारण पछिल्लो समयमा राति सडकमा बस्नेहरु न्यून बन्दै गएका छन् । बेसहाराहरु भेटिएका छैनन् । तर, पेशेवर मगन्ते र मदिरा पिएर सडकमा बस्नेहरु अझै भेटिँदैछन् । उनीहरुलाई बालाजुस्थित अस्थायी आवास केन्द्रमा राखिएको छ ।

कतिपयको घर परिवार फेलापारेर बुझाउने गरिएको छ भने नभेटिएकालाई केन्द्रमा राखेर परामर्श दिने काम जारी छ । अझै बिहान, दिउँसोमा सडक र मन्दिरछेउमा बसेर माग्नेहरु प्रशस्तै छन् । काठमाडौंमा त्यसलाई निरुतसाहित गर्न आजबाट माइकिङ गरेर उनीहरुलाई नबस्न अनुरोध गरिएको काठमाडौंको सडक मानवमुक्त अभियान कार्यान्वयन उपसमितिकी संयोजक गुजेश्वरी श्रेष्ठले बताइन् ।

आज यहाँका संकटा, भद्रकालीलगायत आसपासका मन्दिरमा पुगेर सबैलाई नबस्न अनुरोध गरिएको छ । पहिलो चरणमा आग्रह गरिने र त्यसपछि अटेर गर्नेलाई उठाउने तयारी महानगरको छ । गएको मंसिर २९ गते महानगरले काठमाडौंलाई सडक मानवमुक्त बनाउने अभियान घोषणा गरेको हो । आगामी तीन महिनासम्म उद्वार तथा व्यवस्थापन अभियान चलाउने योजनाअनुसार दुई हस्तादेखि कार्यक्रम जारी छ ।

अहिलेसम्म ३६० भन्दा बढीको उद्वार भइसकेको छ । कतिपयलाई परिवार खोजेर पठाइएको छ भने धेरै अझै केन्द्रमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू