अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

नेकपा र राजपाबीच दुई बुदे सहमति, राष्ट्रिय सभामा कांग्रेसलाई ठुलो धक्का

बिआरटीनेपाल २०७६ पुष २ गते ८:१९ मा प्रकाशित

राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टीबीच सहकार्य गर्ने सहमति भएको छ । नेपाली कांग्रेसले सदस्य आस गरेको प्रदेश–२ मै नेकपा र राजपाबीच सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह भएको छलफलमा दुवै दलबीच दुई बुदे सहमति भएको छ । सहमति अनुसार चार सिट मध्ये दुई नेकपा र दुई राजपाले पाउने छन् । खाली हुने चारमध्ये दुुई दुई सिट लिने सहमति भएको नेकपाका सचिवालय सदस्य इश्वर पोखरेलले जानकारी दिनुभयो । सहमतिअनुसार राजपाले अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको सिट लिनेछ भने नेकपाले महिला र दलित पुरुष लिनेछ । यो सहमतिसँगै दुबैको जित पक्काजस्तै बनेको छ ।

सहमतिसँगै प्रदेश–२ बाट सत्तारुढ समाजवादी पार्टी र नेपाली कांग्रेसको सिट गुम्ने निश्चित बनेको छ । अन्य ६ वटै प्रदेशबाट नेकपाका मात्र उम्मेदवार विजयी हुने लगभग निश्चित जस्तै बनेको छ । सहमतिले नेकपालाई एक सिट बढि प्राप्त हुनेछ । यसअघि नेकपाले एक, राजपाले दुई र एक सिटमा कांग्रेसका उम्मेदवार निर्वा्चित भएका थिए । सहमतिसँगै राजपाले दुई सिट जोगाउँदा कांग्रेसले गुमाएको छ । १८ सदस्यका लागि निर्वाचन आयोगले माघ ९ गतेका लागि निर्वाचनको मिति तोकेको छ भने पुष २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ ।

नेकपा र राजपाबीच दोस्रो बुँदामा निक्कै महत्वपूर्ण सहमति भएको छ । जसमा भनिएको छ,‘हामी दुई पार्टीका विषयमा राष्ट्रिय राजनीतिका समसामयीक विषयहरुमा नियमित रुपमा छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने ।’ यो सहमतिले राजनीतिक रुपमा दुई शक्तिबीच आउदा दिनमा सहकार्य गर्ने ठाउ प्रशस्त खोलेको छ । सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू