अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

अकुपाई टुँडिखेल अभियानद्धारा खुलामञ्चमा सरसफाई

बिआरटीनेपाल २०७६ मंसिर २८ गते १:०९ मा प्रकाशित

अकुपाई टुँडिखेल अभियान अन्तर्गत शनिबार खुलामञ्चको सरसफाई गरिएको छ । अभियानको छैठौँ हप्तामा ‘सफा, स्वच्छ खुला मञ्च कायम गरौँ स् खुला मञ्चको फोहोर कसिंगर जरैदेखि उखेलेर फालौँ’ भन्ने नारासहित सरसफाई गरिएको हो ।

टुँडिखेल टुँडिखेलजस्तै हुनु पर्छ भन्ने भावनाले अभियान सञ्चालन भएको काठमाडौं महानगरपालिका–२८ का वडाध्यक्ष भाइराम खड्गीले बताउनुभयो । अकुपाई टुँडिखेल अभियान कसैको विरोध वा समर्थनमा नभएको उनको भनाई छ । वडाध्यक्ष खड्गीले सम्बन्धित वडाध्यक्षहरुलाई आ—आफ्नो क्षेत्रमा सरसफाई गर्न मेयरले निर्देशन दिनुपर्नेमा अभियानका बारेमा गलत टिप्पणी गर्न नमिल्ने बताउनुभयो ।

अकुपाई टुँडिखेल अभियानका अभियान्ता सुशन वैद्यले खुल्लामञ्च महानगरको एकलौटी सम्पत्ति नभएको बताउनुभयो । सार्वजनिक स्थानमा पद र शक्तिमा भएका व्यक्तिले सरसफाई लगायतका काम गर्नुपर्ने बताउँदै उहाँले तीन करोड नेपालीको हक लाग्ने सम्पत्तिलाई महानगरले भाडा लगाउन नमिल्ने ठहर गर्नुभयो

अकुपाई टुँडिखेल अभियान अन्तर्गत यसअघि टुँडिखेलको सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा राजनीतिक महत्वमाथि केन्द्रित रहेर कार्यक्रम सञ्चालन भएका थिए । टुँडिखेलमा बसपार्क, अनधिकृत पसल सञ्चालन गरिएपछि यसको विरुद्धमा अभियान सञ्चालन गरिएको हो । अभियान विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आगाडि ६ हप्तासम्म अझै जारी रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू