अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

‘चिनूक’ हेलिकोप्टरमार्फत भारतले कालापानी क्षेत्रमा मेसिन र सामग्री ढुवानी गर्दै

बिआरटीनेपाल २०७६ मंसिर २७ गते २३:५५ मा प्रकाशित

भारतले कालापानी क्षेत्रमा अत्याधुनिक र ठूलो आकारको ‘चिनूक’ हेलिकोप्टरमार्फत मेसिन र सामग्री ढुवानी गरिरहेको छ । नेपालमा सीमा अतिक्रमणबारे चर्चा र आक्रोश बढिरहेका बेला भारतले भने अतिक्रमिण गरेको कालापानी क्षेत्रमा गतिविधि बढाएको छ ।

पिथौरागढ जिल्ला मुख्यालयमा रहेको नैनीसैनी हवाई मैदानदेखि अतिक्रमित नेपाली भूमि गुञ्जीसम्म चिनूक हेलिकोप्टरमार्फत ठूल्ठूला मेसिन र सामग्री ढुवानी भइरहेका छन् । अतिक्रमित नेपाली भूमिमा भारतीय सेनाले सडक निर्माण गरिरहेकोले ठूला मेसिन र निर्माण सामग्री हेलिकोप्टरमार्फत ढुवानी भइरहेका हुन् ।भारतीय वायुसेनाको चिनूक हेलिकोप्टर धेरै दिनदेखि पिथौरागढको नैनीसैनी हवाई मैदानमा राखिँदै आएको ‘हिन्दुस्तान’ दैनिकले लेखेको छ । वायुसेनाको ‘हेभी लिफ्टर’ भनिएको चिनूक हेलिकोप्टरको आकार झण्डै एआरटी ७२ विमान जत्तिकै छ ।

मंसिर पहिलो हप्ता पनि छतमा दुइटा पंखा भएको ठूलो हेलिकोप्टरले गुञ्जीसम्मको क्षेत्रमा चक्कर लगाएको व्यास गाउँपालिका ४ सुन्सेराको स्थानीय पत्रकार मान सिंह कुँवरले बताउनु भयो । ‘हेलिकोप्टरको छतमै दुइटा पंखा थिए, ठूलो आवाज आइरहेको थियो, हेलिकोप्टरको तलतिर गाडी जस्तै मेसिन झुण्डिएको थियो’, पत्रकार कुवरले भन्नुभयो । ३४ दिनसम्म दैनिक धेरैपटक उक्त हेलिकोप्टरले यस्ता मेसिन बोकेको उहाँको भनाइ छ ।

‘नोभेम्बर महिनाको पहिलो हप्तामा धारचुलासँगै जोडिएको मुनस्यारी तहसिल क्षेत्रमा पनि ‘चिनूक’ हेलिकोप्टरले उडान भरेको थियो । भारत–चीनको सीमा क्षेत्रमा सैनिक सामग्री ढुवानीमा हेलिकोप्टरको प्रयोग भएको सैनिक सूत्रलाई उद्धृत गर्दै ‘हिन्दुस्तान’ दैनिकले समाचार छापेको छ । पिथौरागढको हवाई मैदानदेखि धारचुला हुँदै गुञ्जीसम्मको क्षेत्रमा वायुसेनाका चिता र एमआई १७ हेलिकोप्टरले दिनहुँ चक्कर लगाउने गरेका छन् ।

केही महिनाअघि मात्रै सञ्चालनमा आएको पिथौरागढको नैनीसैनी हवाई मैदान नेपाल र चीन सीमा नजिकको सामरिक दृष्टिकोणले महत्वपूर्ण मानिँदै आएको छ । नैनीसैनी हवाई मैदानबाट देहरादून, पन्तनगर र दिल्ली नजिकको हिडनसम्मको हवाई सेवा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू