अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४४ | Colorodo: 16:59

धान्यपूर्णिमा– योमरी पुन्ही मनाईयो

बिआरटीनेपाल २०७६ मंसिर २६ गते ६:०३ मा प्रकाशित

धान्यपूर्णिमा पर्व आज मुलुकभर धान्यपर्वत दान गरी मनाईएको छ । अन्नबालीहरुमा लोकप्रिय मानिने धान घरघरमा भित्र्याएपछि हर्षखुशीपूर्वक धान्यपूर्णिमा पर्व मनाउने गरिन्छ । यस अवसरमा अन्नपूर्णा, पाथिभरा, सिमेभूमेलगायतका देवपितृको पूजा गरी कन्याहरुलाई धान दान गर्ने चलन छ ।

धान्यपूर्णिमा दिन काभ्रेको धनेश्वर,भक्तपुरको दत्तात्रेय, रानीकोट बाघभैरव, अनन्तलिङ्गेश्वरमा मेला लाग्दछ । उता कर्णालीक्षेत्रमा यसै दिन गैडुपूजा.गरिन्छ । कतै धानको राश ठड्याई अन्नको पर्वत दान गर्ने पनि परम्परा छ । पूर्वी नेपालको किराँतक्षेत्रमा धान्यपूर्णिमाका दिन धाननाच गर्दै उधौली पर्व मनाइँन्छ । लेकमा जाडो बढेपछि गाईबाच्छा लिएर तल बेंसीमा झर्ने कृषिसभ्यताको आधारमा उधौली पर्व मनाउन थालिएको पाइन्छ । यस दिन किराँत समुदायमा खुला चोकमा भेला भई ढोल र झ्याम्टाको तालमा गीत गाउँदै समूहमा सिली नाच्ने गर्दछन् ।

काठमाडौं उपत्यकामा बसोवास गरी धानखेती गर्ने नेवार समुदायले धान्यपूर्णिमाका दिन योमरी पुन्ही पर्व मनाउने चलन छ । नयाँ धानको पिठोमा चाकु, खुवा तथा अन्य पोषिलो पदार्थ राखि योमरी पकाई धानको भकारीमा राखी देउतालाई चढाउने र प्रसादका रुपमा आफन्तलाई दिने प्रचलन छ । योमरी पुन्हीका दिन गाउँवस्तीमा बालबालिकाहरुले घरघरमा गई गीत गाउँदै योमरी संकलन गर्दछन् । धान्यपूर्णिमाको एकै दिन अनेक समुदायको पर्व परेकाले देशका धेरै जसो समुदायलाई हर्षित बनाउने सांस्कृतिक संगमको चाड बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू