अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

नयाँ दिल्लीमा नेपाल भ्रमण वर्ष २०२० को पर्यटन प्रवर्द्धन

बिआरटीनेपाल २०७६ मंसिर २२ गते ९:०९ मा प्रकाशित

काठमाडौँ, नेपाल भ्रमण वर्ष २०२० र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले ‘‘भ्रमण वर्ष २०२० तथा नाइस (नेपाल इन्डिया चाइना एक्स्पो)’’ कार्यक्रम सम्बन्धी यही डिसेम्बर ५ तारिखका दिन नयाँदिल्लीस्थित द पार्क होटेलमा भारतका करिब ६० वटा प्रमुख ट्राभल व्यवसायी तथा सरोकारवालाहरूबिच प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

पाटा नेपालका महासचिव विभुतीचन्द ठाकुरले आमन्त्रित अतिथि तथा भारतका विभिन्न सङघ संस्थामा आबद्ध व्यवसायीहरूलाई सम्बोधन गर्दै कार्यक्रम सुरु गनुभयो । पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रममा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले डिसेम्बर ६ मा पाटा इन्डिया च्याप्टरद्वारा आयोजित ‘‘टुरिजम पावर हाउस’’ कार्यक्रममा समेत भ्रमण वर्ष २०२० तथा नाइस सम्बन्धी करिब ४०० भारतका पर्यटन सरोकारवालाहरू समक्ष प्रस्तुति दिनुभएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० का प्रबन्धक रोहिणी खनालले नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष लक्षित कार्यक्रम तथा पहलहरूका सम्बन्धमा प्रस्तुति दिनुभएको थियो । उहाँले भ्रमण वर्षको उद्देश्य, महत्त्व र प्राथमिकताहरूबारे प्रकाश पार्दै उपस्थित सबैमा भ्रमण वर्षमा सहभागी हुन र आ–आफ्नो कार्यक्षेत्र तथा नेटवर्कमार्फत भ्रमण वर्षको प्रवर्द्धनमा सहयोग गर्न आब्हन गर्नुभयो । त्यसै गरी, पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले भ्रमण वर्षको सन्दर्भमा पाटा नेपालद्वारा आयोजना गरिने कार्यक्रमहरू विषेशगरी नाइस कार्यक्रमको संरचना, तयारी र नेपाल भारत र चीन छिमेकी मुलुकहरूको दिगो पर्यटन विकासका लागि यस कार्यक्रमले खेल्ने महत्त्वपूर्ण भूमिकाबारे प्रस्तुति दिनुभएको थियो । 

कार्यक्रममा बोल्दै पाटा अन्तर्राष्ट्रियका सिइओ डा मारियो हार्डीले पाटाले विश्वकै दिगो विकास प्रवर्द्धनका लागि सहकार्य तथा समन्वयमा जोड दिइरहेको परिवेशमा नेपालद्वारा आयोजना गरिने नाइस कार्यक्रम अत्यन्त सराहनीय भएको बताउनुभयो । उहाँले विश्वका केही मुलुकहरू ‘‘ओभर टुरिजम’’ र कतिपय मुलुकहरू ‘‘अन्डर टुरिजम’’ अवस्था अनुभूति गरिरहेको बेला दिगो पर्यटन विकासका लागि पर्यटकहरूको सन्तुलित वितरण आवश्यक हुने बताउँदै पाटाले विभिन्न मुलुकहरू तथा पाटा च्याप्टरहरूबिच बढी भन्दा बढी सहकार्य र समन्वयलाई जोड दिइरहेको बताउनुभयो ।

पाटा इन्डियाका कार्यकारी निर्देशक रुनिप साँघाले पाटा इन्डिया च्याप्टरले रणनीतिक साझेदारको रूपमा नाइस कार्यक्रमका लागि सक्दो सहकार्य तथा सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा भारतमा साहसिक पर्यटनमा चिर परिचित व्यक्तित्व तथा नाइस एम्बेसडर अजित बजाजले हिमालय पर्यटन क्षेत्रका प्रमुख संरक्षक राष्ट्रहरू (नेपाल भारत र चीन) लाई पर्यटन क्षेत्रमा एकत्रित एवम् एकबद्ध गरी यो क्षेत्रकै दिगो पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नाइस कार्यक्रम एक प्रशंसनीय पहल भएको बताउनुभयो ।

प्रतिक्रिया