अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०४ | Colorodo: 11:19

अपाङ्गता भएका विद्यार्थीको सहारा बन्दै सुन्दर हरैंचाका सङ्घ संस्था

बिआरटीनेपाल २०७६ मंसिर १८ गते १२:१७ मा प्रकाशित

विराटचोकः ‘दिगो विकासको लक्ष्य, अपाङ्ग मैत्री भविष्य’ भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको २८ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । यसै क्रममा बुधवार मोरङको सुन्दरहरैंचा नगरपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री साथै खाद्यान्न वितरण गरिएको छ ।

बुधवार आशा नेपाल, सामाजिक सेवाका लागि युवा अभियान नेपाल, र मानव अधिकार संरक्षण मञ्च नेपालले वडा नम्बर ७ मा रहेको साजीलाल आधारभूत विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो । सो विद्यालयमा अपाङ्गता भएका १७ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा भएका विद्यार्थीलाई कपी, पेन्सिल, अपाङ्गता भएका व्यक्तिलाई पढ्न र बुझ्न सजिलो हुने ब्लक, वितरण गरिएको हो । विद्यालयको लागि एउटा दराज पनि दिइएको थियो ।

यस्तै विद्यालयम नै दिवा खाजाको व्यवस्था खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरिएको छ ।  सो कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अमिष ढकाल रहेका थिए । ढकालले अपाङ्गता भएको व्यक्तिको आँखामा देश निर्माण गर्ने बौद्धिकता भएकाले यस्ता व्यक्तिको संरक्षण तथा दायित्व राज्यको भए पनि सामाजिक संस्थाले गर्नु अत्यन्तै उदाहरणीय र प्रशंसनीय कार्य भएको बताए ।

यस्तै, विशिष्ट अतिथि, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चैतन्य सिटौलाले स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने बताएका थिए । कार्यक्रमका अतिथि लायन्स क्लब अफ सुन्दरदुलारीका अध्यक्ष नागेश पोख्रेलले आफ्नो तर्फबाट विगतमा सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । नेपाल अपाङ्ग महिला सङ्घकी अध्यक्ष भीमा खतिवडाले सुन्दरहरैंचा नगरपालिकामा अपाङ्गता भएका बालबालिका ४० जनाभन्दा बढी रहेका तर उनीहरूलाई सहज तरिकाले विद्यालयसम्म ल्याउने यातायातको व्यवस्था नभएको बताइन् ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष जीवन ढुङ्गाना, वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठ, साना किसान कृषि सहकारी संस्थाका सुन्दरपुरका अध्यक्ष रवीन्द्र आचार्य, जुनियर जेसीजका अध्यक्ष उत्सव थापा, अपाङ्गता नगर समन्वय समितिकी सचिव मिना आचार्य लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमका अध्यक्षता आशा नेपालका कार्यवाहक अध्यक्ष अनुरोध शाहले गरेका थिए । कार्यक्रममा शाहले शिशुको जन्मपछि शिक्षा, स्वास्थ्य र बाँच्ने नैसर्गिक अधिकार भए तापनि राज्यबाट उपेक्षित भएकाले सामाजिक संस्थाहरूले पहिचान गरी सहयोग गरेको र राज्यले उचित सम्बोधन गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।  कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य मानव अधिकार संरक्षण मञ्च नेपालका अध्यक्ष टेकराज तिम्सिनाले गरेका थिए । कार्यक्रमको व्यवस्थापन निष्पक्ष खबर अनलाइनले गरेको थियो । कार्यक्रम सञ्चालन सामाजिक सेवाका लागि युवा अभियान नेपालका अध्यक्ष ज्ञाननाथ ढकालले गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू