अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 10:12

बुद्ध एयरले विराटनगर र भद्रपुरबाट पोखरा उडान भर्ने

बिआरटीनेपाल २०७६ मंसिर ९ गते १७:२१ मा प्रकाशित

काठमाडौँ, बुद्ध एयरले मङ्सिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् । भद्रपुर र विराटनगरदेखि पोखरासम्मको ट्रान्जिट फ्लाइट सम्बन्धी बुद्ध एयरद्वारा आइतबार आयोजित कार्यक्रममा उनले परीक्षण स्वरूप सो कार्य छ महिना सञ्चालन गरिने र कम्पनीले नोक्सान व्यहोर्नुपर्ने स्थिति नभएमा सधैँ सेवा जारी राख्ने बताए । नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्‍याउन प्रदेश सरकारको आग्रहमा उक्त सेवा सञ्चालनमा ल्याउँदा आन्तरिक र बाह्य पर्यटकलाई विशेष फाइदा पुग्ने निर्देशक बस्नेतको भनाइ थियो । सुरुमा हप्तामा तीन दिन सो सेवा सञ्चालन गर्ने बस्नेतले बताए ।

सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सबै सेवामा आम नागरिकको पहुँच पुर्‍याउनु नै समृद्धिको सुरुआत भएको बताए । उनले सो सेवालाई दिगो र प्रभावकारी बनाउन प्रदेश सरकारले भूमिका निर्वाह गर्ने भन्दै विराटनगर विमानस्थललाई स्तरोन्नति गर्ने जानकारी दिए । विराटनगर विमानस्थलको धावनमार्गलाई दुई हजार ४०० मिटर बनाउन प्रदेश सरकारले पहल गरिरहेको उनको भनाइ थियो ।

सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बुद्ध एयरले विराटनगर र काठमाडौँदेखि पोखरा सेवालाई सिधा सेवा सुरु गर्न सके सेवाग्राही लाभान्वित हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू