अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४२ | Colorodo: 14:57

पूजा बोहोराको सामूहिक बलात्कार गर्ने दुई दोषी ठहर , ८ वर्षपछि मुद्धाको फैसला

बिआरटीनेपाल २०७६ कार्तिक ७ गते ९:५६ मा प्रकाशित

सर्वोच्च अदालतले पूजा बोहोरालाई सामूहिक बलात्कार गर्ने दुई जना अभियुक्तलाई दोषी ठहर गरेको छ। सर्वोच्च अदालतमा ६ वर्षदेखि पुनरावेदनका रुपमा अल्झिएको मुद्दाको सुनुवाइ गर्दै बिहीबार न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको इजलासले बोहोरालाई बलात्कार गर्ने दुईजनालाई दोषी ठहर गरेको हो। सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार अभियुक्तहरु सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरे पनि सजाय भने निर्धारण हुन बाँकी छ । नयाँ फौजदारी कार्यबिधी अनुसार दोषी हो वा होइन ठहर र सजाय निर्धारण एकैपटक गर्न नहुने प्रावधानअनुसार बिहीबार भट्ट र अवस्थीलाई दोषी ठहर गरेको हो।

उनीहरुलाई एक महिनाभित्र प्रधान र फुयालकै इजलासबाट सजाय निर्धारण हुने सर्वोच्चले जनाएको छ। मुद्दा असोज १० गते सुनुवाइ सुरु भएको मुद्दा हेर्दाहेर्दैको अवस्थामा राखिएको थियो। १४ वर्षीय किशोरी बोहोरालाई २०६८ चैत ७ गते एसएलसीको गणित विषयको ग्रेस पेपर किन्न जाँदा भट्ट र अवस्थीले नसालु सुई लगाइ सामूहिक बलात्कार गरिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। उनलाई जबरजस्ती करणीपछि नालीमा फालिएको अवस्थामा उद्धार गरी अस्पताल पुर्याईएको थियो। मुद्दाको सुनुवाइ गर्दै २०६९ फागुन २२ गते बैतडी जिल्ला न्यायाधीश हिमालयराज पाठकको इजलासले सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गर्दै जनही १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

तर पुनरावेदन अदालत महेन्द्रनगरले २०७१ वैशाख १५ गते जिल्लाको फैसला उल्ट्याउँदै दुवै अभियुक्तलाई सफाइ दिएको थियो। न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको इजलासलाई त्रुटिपूर्ण देखाउँदै जिल्लाको फैसला बदर गरेका थिए। पुनरावेदनको फैसलाविरुद्ध सरकारी वकिलले २०७१ पुस २ गते सर्वाेच्चमा पुनरावेदन दर्ता गरेको थियो। सर्वोच्चमा मुद्दा दर्ता भएको ६ वर्षको अवधिमा २२ औंपटक पेशी तोकिएपछि बिहीबार फैसला भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू