अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

जनकपुरका ब्यवसायी साहको गोली हानी हत्या, हत्यारा पक्राउ, आर्थिक लेनदेनमा विवाद

बिआरटीनेपाल २०७६ कार्तिक ६ गते ८:२४ मा प्रकाशित

जनकपुरमा एक जना व्यवसायीको गोली हानी हत्या भएको छ । हत्या हुनेमा जनकपुर वडा नम्बर २ वकिल टोलका ४० बर्षिय मनोज साह छन् । उनी शिव आयलका संचालक समेत हुन् । साहले बक्यौता रहेको रकमको ताकेता गर्दा उनको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

साहलाई निर्माण व्यवसायी जनकपुर १४ मुजेलियाका पंकज भनिने शंकर चौधरीले गोली हानी हत्या गरेका हुन् । आरोपित चौधरीलाई घटना लगतै हतियारसहित प्रहरीले पक्राउ गरेको छ । चौधरीले आफ्नो घरमै ताकेता गर्न आएका व्यवसायी साहलाई गोली हानेका हुन् ।

गोली हानेर छिमेकीको घरमा लुकेका चौधरीलाई घर घेरा हालेर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । प्रहरीका अनुसार लेनदेनको विवाद दुबैबीच करीब आधा घण्टासम्म पंकजको घरमै भएको थियो ।

एक्कासी गोली चलेको आवाज आएपछि स्थानीय त्यहाँ पुग्दा मनोज गोली लागेर ढलेका थिए । साहका परिवारका अनुसार चौधरीले आयल निगमबाट डिजेल लिएको र केही नगद ऋण समेत लिएका थिए । उक्त रकमका कारण दुवैबीच लामो समयदेखि विवाद हुँदै आएको थियो ।

घटनास्थलबाट प्रहरीले दुई वटा पेस्तोल र २२ राउण्ड गोली बरामद गरेको छ । यता, परिवारले भने गोली चलाउने चौधरीलाई कडा कार्वाहीको माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू