अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

मिस्टर नेपाल अक्षयले भेटे उप राष्ट्रपति पुन

बिआरटीनेपाल २०७६ कार्तिक ६ गते ७:४४ मा प्रकाशित

काठमाडौँ– नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वर्ड २०१९’मा सहभागी अक्षयजंग रायमाझीलाई उप राष्ट्रपति नन्द बहादुर पुनले बधाई तथा शुभकामना दिएका छन् । मङ्गलवार साँझ आफ्नो कार्यकक्षमा भेट गर्दै पुनले सौन्दर्य प्रतियोगिता मार्फत विश्वमा नेपाल चिनाएको भन्दै प्रशंसा समेत गरेका थिए । केही समय अगाडि फिलिपिन्सको मनिलामा आयोजना भएको मिस्टर वर्डमा अक्षय आफूलाई प्रतियोगिताको उत्कृष्ट १० भित्र उभ्याउँदै मल्टिमिडिया अवार्ड समेत नेपाल भित्र्याउन सफल भएका थिए ।

उप राष्ट्रपति पुनसँगको भेटमा अक्षयले प्रतियोगिता आफूले नेपालको गौरव सगरमाथा, गौतम बुद्ध, हिमाल, नदीनाला लगायत समेत अन्तर्राष्ट्रिय समुदायमा राखेको र भिजिट नेपाल २०२०को निम्तो समेत दिएको जानकारी दिए । कार्यक्रममा नेपाली कला संस्कृति झल्कने भोषभुषा सहितको काल भैरव नाच समेत प्रस्तुत गरेको अक्षयले पुनलाई जानकारी गराए ।  अक्षयसँग उप राष्ट्रपति पुनसँग भेट गर्न एक्सपोज नेपालकी सिइयो अर्चना थापा र केही सहयोगीका साथ कार्यालय पुगेका थिए । अक्षयलाई मिस्टर वल्र्डमा एक्सपोज नेपालले पठाएको हो ।

त्यस्तै एक्सपोज नेपालले एक विज्ञप्ति मार्फत नयाँ मिस्टर नेपाल अर्थात् ‘मिस्टर नेपाल २०१९’को लागि आवेदन समेत खुल्ला गरेको छ । १७ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूले सहभागिता जनाउन पाउने प्रतियोगिताको अडिसन कार्त्तिक २५ देखि धनगढीबाट सुरु हुने बिज्ञाप्तीमा उल्लेख छ । धनगढीपछि काठमाडौँ, पोखरा, चितवन, बुटवल, इटहरी लगायतको सहरमा समेत पहिलो चरणको अडिसन हुने आयोजकले जनाएको छ । देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिकस्पिकिङ लगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइने आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् ।

युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो ।

प्रतियोगितामा सहभागिताको लागि आवेदन फर्म एक्सपोज नेपालको कुपन्डोल स्थित कार्यालय र वेबसाइटबाट पनि भर्न सकिनेछ ।

प्रतिक्रिया