अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४२ | Colorodo: 14:57

गायक दुर्गेश थापा सार्वजनिक रुपमा माफी माग्दै हिरासतमुक्त, “ह्याप्पी तिहार” गीत प्रतिबन्धित

बिआरटीनेपाल २०७६ कार्तिक ५ गते ९:१८ मा प्रकाशित

विवादास्पद गितका कारण पक्राउ परेका गायक दुर्गेश थापा हिरासतमुक्त भएका छन् । मंगलबार काठमाडौं बालाजुबाट पक्राउ परेका उनले गाएको चिसो बियर भन्ने गित विवादमा आएपछि उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । तिहारको अवसर पारेर सार्वजनिक गरिएको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार थापाले गाएको उक्त बिबादास्पद गित युट्युबबाट हटिसकेको छ। गायक थापाले सार्वजनिक रुपमा माफी माग्न तयार भएपछि उनलाई हिरासत मुक्त गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताउनुभयो । थापाविरुद्ध देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।

उक्त गीतमा धूमपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको र यसले समाजलाई नकारात्मक सन्देश दिएको भन्दै आलोचना भएको थियो । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको हो । केही समय अगाडि सार्वजनिक गीतका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो ।

प्रतिक्रिया