अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२ | Colorodo: 23:37

जनताका मन जित्ने काम गरेर देखाउनुहोस्: सभापति देउवा

बिआरटीनेपाल २०७६ कार्तिक १ गते ६:४३ मा प्रकाशित

काठमाडौँ, १ कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधीलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन दिनुभएको छ ।

मध्यपुरथिमिको बोडेमा आज काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले काङ्ग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उप प्रमुख, गाउँपालिकाका प्रमुख, उपप्रमुखका लागि आजबाट सुरु गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उहाँले भन्नुभयो, “कम्युनिस्ट र काङ्ग्रेस फरक हो भनेर कामबाटै देखाउनुपर्छ, काँग्रेसबाट विजयी भएका स्थानीय तहका प्रमुख र उपप्रमुखले अब कम्युनिस्ट सरकारको भन्दा राम्रो काम गरेर देखाउनुपर्छ ।”

जनताका पिर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी प्रभावकारी ढङ्गले काम गर्न जन प्रतिनिधिलाई निर्देशन दिँदै उहाँले जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिनुभयो ।

काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी काङ्ग्रेस विरुद्ध षड्यन्त्र सुरु गरेको आरोप लगाउँदै उहाँले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै उहाँले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको बताउनुभयो । पौडेलले काङ्ग्रेस विकल्पको रूपमा उदाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उप सभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख बिमलेन्द्र निधिले काङ्ग्रेसले आसन्न उप निर्वाचन जसरी पनि जित्नुपर्ने बताउँदै पार्टीभित्रको गुटबन्दी अन्त्य हुन जरुरी रहेको औँल्याउनुभयो ।

महा मन्त्री डा शशाङ्क कोइरालाले मुलुकलाई समृद्ध बनाउन सरकारमा काङ्ग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ काङ्ग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले काङ्ग्रेस दिनप्रतिदिन सङ्कटमा पर्दै आएको बताउँदै अब पार्टी सभापतिदेखि कार्यकर्तासम्मले आफ्नो आचरणमा सुधार गर्दै पार्टीलाई अगाडि बढाउनु पर्ने भनाइ राख्नुभयो ।

सञ्चारमाध्यमले समेत षडयन्त्रमूलक रूपमा काङ्ग्रेसको विरुद्धमा आएको बताउँदै सिटौलाले भन्नुभयो, “पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर काङ्ग्रेस विरुद्ध लागेका छन्, काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमुना हो ।”

कार्यक्रममा केन्द्रीय सदस्य सीता गुरुङ, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, गाउँपालिका विकास समितिका महासचिव वंशलाल लामालगायतले लोकतन्त्रमाथि चुनौती पूर्ण अवस्था आएको भन्दै त्यस विरुद्ध सङ्घर्षका लागि तयार रहनुपर्नेमा जोड दिनुभयो ।

काङ्ग्रेस पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काङ्ग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको प्रशिक्षणमा देशभर ४०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको काङ्ग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलले जानकारी दिनुभयो । प्रशिक्षण शनिवार सम्पन्न हुने काङ्ग्रेसले जनाएको छ । गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू