अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

गैर आवासीय नेपाली सङ्घ अमेरिकाद्वारा अक्षयकोषका लागि नगद रकम हस्तान्तरण

केबी गुरुङ २०७६ असोज ३० गते ६:४५ मा प्रकाशित

रोल्पा, रोल्पाको गंगादेव गाउँपालिकामा रहेको सिद्धार्थ नमुना माध्यमिक विद्यालय घोप्टेओढारमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाले अक्षयकोषका लागि नगत रकम हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा अध्ययनरत द्वन्द्वपिडित तथा टुहुरा, अनाथ, असहाय र जेहेन्दार बालबालिका लागि निर्मित अक्षयकोषमा सहयोग गरेको हो ।

यसरी जम्मा गर्नेहरूमा एनआरएन उपाध्यक्ष अमेरिकाका कृष्ण जीवी पन्तले नगत ३ लाख सहयोग हस्तान्तरण गरेका थिए । उक्त सहयोग अमेरिकामा रहने अन्य दाताहरूले पनि सहयोग गरेका थिए ।

त्यसै गरी कार्यक्रमका अन्य अतिथिहरू हेमराज भट्टले नगत ५१ हजार र भरत थापाले नगत २५ हजार गरी जम्मा नगत ३ लाख ७६ हजार अक्षयकोषमा सहयोग हस्तान्तरण भएको थियो ।

बाघचौर -९ सल्यानका रतन बहादुर डाँगीले १० हजार १ सय र गंगादेव -५ उदीन ढुङ्गाका रवि ओलीबाट १ हजार रकम अक्षयकोषमा सहयोग गरेका थिए ।

अक्षयकोषका लागि थप सहयोग गर्न पहल गर्ने समेत प्रमुख अतिथि पन्तले बताएका थिए ।

अक्षयकोष रकम हस्तान्तरण गर्न एनआरएनए अमेरिकाका उपाध्यक्ष कृष्णजीबी पन्त, एनआरएनए अमेरिकाका अभियन्ता हेमराज भट्ट र भरत थापा हेलिकप्टर मार्फत विद्यालयमा उपस्थित भएका थिए ।

कार्यक्रमको प्रमुख अतिथिमा उपाध्यक्ष कृष्ण जीवी पन्त रहेका थिए भने हेमराज भट्ट र भरत थापा अतिथि रहेका थिए । त्यसैगरि हेलिकप्टर पाइलट पाब्लो पनि अतिथि थिए । नमुना विद्यालय अभियानको तर्फबाट संयोजक प्रेम बहादुर ओली र अक्षयकोष अध्यक्ष टोप बहादुर बलि अतिथिमा रहेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक राम ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई प्रधानाध्यापक वीरेन्द्र खड्का र सहायक शिक्षक वाईबी जिएमले कार्यक्रमको सञ्चालन गरेका थिए । विद्यालय व्यवस्थापन समितिको तर्फबाट सदस्य विष्णु खड्काले स्वागत मन्तव्य दिएका थिए ।

प्रमुख अतिथि पन्तले अक्षयकोष हस्तान्तरण गर्दै आगामी दिनहरूमा पनि उक्त विद्यालयलाई सहयोगका लागि शैक्षिक हातेमालो गर्ने बताए । शिक्षा आर्जन गर्न कुनै विकटताले नरोक्ने बताउँदै पन्तले मेहनती र अनुशासनले असल शिक्षा आर्जन गर्न विद्यार्थी वर्गलाई आग्रह गरे । उनले विद्यालयलाई निरन्तर सहयोग गर्ने जनाएका थिए ।

त्यस्तै अर्का अतिथि हेमराज भट्टले कार्यक्रमलाई सम्बोधन गर्दागर्दै भावुक बनेका थिए । आफुपनि यस्तै विकट स्कुलमा शिक्षा आर्जन गरेको क्षणलाई स्मरण गर्दै त्यही शिक्षा जीवनका लागि गोरेटो बनेको बताए । सिद्धार्थ नमुना मावि रोल्पाको मात्र नमुना नबनेर नेपालकै नमुना विद्यालय बन्ने विश्वास समेत व्यक्त गरे । उनले पनि उक्त विद्यालयलाई निरन्तर सहयोग गर्ने पनि जनाए ।

कार्यक्रममा स्थानीय समुदायहरूको उत्साह जनक सहभागिता रहेको थियो । उपस्थित अतिथिहरूलाई स्थानीयले आफ्नो मौलिक झाँकीद्वारा स्वागत गरेका थिए ।

रोजगारको सिलसिलामा विदेश पुगेका गैर आवासीय नेपालीहरूले सिद्धार्थ माविलाई विगत देखिनै शैक्षिक ब्सुयबस्धाथापनका लागि सहकार्य गर्दै आएको छ ।

एक हप्ता अघि एनआरएन नेदरल्याण्डद्वारा निर्मित भवन हस्तान्तरण गर्न हेलिकप्टर मार्फत एनआरएनका प्रतिनिधिहरू आएका थिए ।

नमुना विद्यालय निर्माण अभियान अन्तर्गत भौतिक पूर्वाधार व्यवस्थापनमा सबैभन्दा पहिलो दाताको रूपमा एनआरएन साउदीलाई पाएको बिब्यस अध्यक्ष तिलक राम ओलीले बताए ।

शिक्षा प्रेमी स्थानीय युवाहरूको जागरूकताका कारण देश बाहिर बस्ने नेपालीहरू द्वारा यस विद्यालयलाई विशेष महत्वका साथ हेरिएको छ । सामाजिक सेवामा उत्प्रेरित एनआरएनहरूले रोल्पाको गंगादेबमा रहेको सिद्धार्थ माविको शैक्षिक सुधारका लागि निरन्तर सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू